काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक ‘फेक अकाउन्ट’लाई लिएर निकै सजग बनेको छ ।

फेसबुकले यो वर्षमात्रै ५.४ बिलियन फेक अकाउन्टहरु आफ्नो प्लेटफर्मबाट हटाइसकेको फ्रान्सको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

उता रोयटर्सका अनुसार यो आँकडा अप्रिलदेखि सेप्टेम्बरसम्म ३.२ बिलियन थियो । पुरानो आँकडाको कुरा गर्दा पछिल्लो वर्ष यही अवधिमा कम्पनीले १.५५ बिलियन फेक अकाउन्ट हटाएको थियो ।

फेसबुकले आफ्नो हालैको ट्रान्सपरेन्सी रिपोर्टमा फेक अकाउन्ट बनाउने र त्यसलाई पहिचान गर्ने क्षमतालाई थप मजबुत गरेको जनाएको थियो । जसले फेक अकाउन्टसँग जुध्न मद्दत पुग्नेछ ।

डिटेक्सन सिस्टमको सहयोगबाट हाल फेसबुकले दैनिक रुपमा लाखौं फेक अकाउन्टहरु बन्नमा रोक लगाइरहेको छ । फेसबुकले भनेको छ, ‘ती अकाउन्टहरु जुन कुनै व्यक्ति वा संस्थाको नामबाट बनाइन्छन्, जुन ती व्यक्ति वा संस्थासँग कुनै पनि सम्बन्ध हुँदैन, त्यस्ता अकाउन्टहरु नै फेक हुन् ।’

सामाजिक सञ्जालमा मानिसहरुलाई भ्रममा पार्न र धोका दिने उद्देश्यले खोलिएका यस्ता फेक अकाउन्टहरु हटाउन फेसबुकले ठूलै धनराशि खर्च गरेको छ । फेसबुकले खासगरी त्यस्ता फेक अकाउन्टहरु हटाउन लगानी गरिरहेको छ, जसले राजनीतिक र सामाजिक अजेन्डालाई लिएर गलत खबर फैलाउने गरिन्छ ।

फेसबुकले यस वर्षको पहिलो त्रैमासमा २.२ बिलियन फेक अकाउन्ट हटाएको थियो । त्यसैगरी सन् २०१८ को अन्तिम त्रैमासमा १ बिलियन र पहिलो त्रैमासमा ५८३ मिलियन फेक अकाउन्ट हटाएको थियो । –एजेन्सी