काठमाण्डौ । फोटो पत्रकारहरुका लागि खुशीको खबर । एक वाणिज्य बैंकले फोटो पत्रकारहरुले खरीद गर्ने क्यामेराका लागि ऋणको व्यवस्था गरिदिने भएको छ । 

ग्लोबल आइएमई बैंकले फोटो पत्रकारका लागि आवश्यक क्यामेरा खरीदमा सहयोग गर्ने उद्देश्यले निकट भविष्यमै विशेष ऋण(लोन)को व्यवस्था गर्ने भएको हो । 

बैंक संचालक समितिका अध्यक्ष चन्द्र ढकालले फोटो जर्नालिस्ट क्लबले आयोजना काठमाण्डौको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरेको फोटो प्रदर्शनीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गरेका हुन् । उनले सबै फोटो पत्रकारले रोजगारी पाउन ५ लाख भन्दा धेरै खर्च गरेर आफै क्यामेरा किन्नुपर्ने र मिडिया संचालकले क्यामेरा नकिनिदिने गरेको सुनिएकोमा आश्चर्य प्रकट गरे ।

इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा पत्रकार र सुरक्षा बिषयक फोटो प्रदर्शनीको शुक्रबार एक समारोहका बीच सभामुख ओनसरी घर्तीले फोटो पत्रकारहरुको फोटो खिचेर गरेकी थिइन् ।

 
‘लडाकुर्लाइ हतियारको जति माया हुन्छ, त्यो भन्दा पनि बढी माया फोटो पत्रकारलाई क्यामेराको हुन्छ’ भन्दै प्रमुख अतिथि घर्तीले फोटो पत्रकारहरुका समस्याका बारेमा सदन सकारात्मक बन्ने बताइन् । फोटो पत्रकारले द्वन्दकाल तथा गणतन्त्र प्राप्तिका लागि महत्वपूर्ण भूूमिका खेलेका उनको भनाई थियो । 

सो कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारिता समाजको मुख्य अंग भएका कारण पत्रकार महासंघ मार्फत गरिएको दुर्घटना बिमा पर्याप्त नभएको बताउँदै पत्रकारहरुले भोग्नु परेको जोखिमलाई न्यूूनिकरण गर्दै जानुपर्ने र यसका लागि अबसर दिन आग्रह गरे । 

सूचना बिभागका निर्देशक बीरबहादुर राइले सूचना बिभागको सहयोगमा फोटोपत्रकार क्लबसँग मिलेर तालिम सम्पन्न भइसकेको बताउँदै राज्यका तर्फबाट आबश्यक सहयोग र सहकार्य जारी रहनुपर्नेमा जोड दिए । 

अहिलेसम्म मारिएका र कुटाइ खाएको पत्रकारहरुमाथि न्याय नभएको बताउँदै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले भूूकम्पका बेला फ्रन्टमा पुगेर फोटो खिच्ने फोटोपत्रकारको प्रशंसा गरे । उनले पत्रकार तथा फोटो पत्रकारहरुको सुरक्षा चुनौतीलाई कम गर्दै लानुपर्ने र धेरै कार्यक्रम भइरहने सरकारी कार्यालयमा फोटो पत्रकारहरुका लागि सहज स्थान निर्माण गर्न सम्बन्धित पक्षसँग आग्रह गरे । 

नेपालका पहिलो फोटोपत्रकार गोपाल चित्रकारले सूचना बिभाग लगायतका सरकारी संस्थाहरुले पत्रकारलाई पुरस्कार र अवार्ड बितरण गरे पनि अहिलेसम्म एकजना फोटोपत्रकारलाई पनि पुरस्कार नदिएको गुनासो गरे । पत्रकार भन्दा फोटोपत्रकारलाइ बढी सुरक्षा चुनौती हुने बताउँदै चित्रकारले फोटो पत्रकारहरुलाई सुरक्षा सम्बन्धी तालिम अनिबार्य गर्नुपर्ने बताए । 

फोटोपत्रकार क्लबका संस्थापक अध्यक्ष चन्द्रशेखर कार्कीले सबै मिडिया हाउसमा फोटोपत्रकारलाई दोस्रो दर्जाको पत्रकारको रुपमा हेरिने बताए । यसैगरी, फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले संसदमै फोटोपत्रकारलाई फोटो खिच्ने ठाउँ राम्रो नभएको बताउँदै अब बन्ने नयाँ भवनमा भने यसका लागि पहिले नै बिचार पुर्याउन सभामुखसँग आग्रह गरे ।