-भक्तराज रसाइली
काठमाडौं । श्रावण महिनाको मध्यतिर नेपालबाट ३६ जनाको ब्रोकरहरुको टोली आफ्नै खर्चमा श्रीलंकाको सेयर बजारको अध्ययन गर्न गएको थियो । त्यहाँ पुगेका नेपाली ब्रोकरहरुले नेपाली बजारको अभ्यास र अनुभव सुनाएका थिए । सो क्रममा उनीहरुले नेपालमा लगानीकर्ताको विश्वासमा फोनबाटै खरीदबिक्रीको आदेश लिइने गरेको सुनाएका थिए । नेपाली ब्रोकरहरुको कुरा सुनेर श्रीलंकाका ब्रोकर अचम्ममा परे । ‘फोनबाट अर्डर लिने त धेरै नै जोखिमपूर्ण भएन र ?’ श्रीलंकाका ब्रोकरहरुको भनाई उद्धृत गर्दै नेपाली भ्रमण दलका एक सदस्यले बिजशालासँग भने–‘हामी यहाँ ५० प्रतिशत क्यास मार्जिनको ग्यारेण्टी बिना खरीदबिक्रीको अर्डर टिप्दैनौं ।’ 

उनीहरुले बताएअनुसार श्रीलंकाको बजारमा काम गर्ने ब्रोकरहरुले सतप्रतिशत क्यास डिपोजिटलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । पूरै क्यास नहुनेले ५० प्रतिशत क्यासको ग्यारेण्टी गरी बाँकी ५० प्रतिशत चाहि ब्रोकर आफैंले मार्जिन लेण्डिङ अन्तर्गत लगानी जुटाइदिने गर्छन् ।

प्रविधिले सुसज्जित श्रीलंकाको बजारका ब्रोकर तथा सेयर लगानीकर्ताहरुले कारोबारको विश्वसनीय र सुरक्षित माध्यम अपनाइरहँदा नेपाली लगानीकर्ता र ब्रोकरहरु भने परम्परागत शैलीमै सेयर खरीदबिक्रीको काम गर्दै आइरहेका छन् । यसले जुनसुकै बेला ब्रोकरहरुलाई जोखिममा पार्नसक्ने श्रीलंका पुगेर फर्किएका ब्रोकरहरुले महसुस गरेका छन् ।  

हाम्रो खरीदबिक्री आदेश कति सुरक्षित ?
नेपालको दोश्रो बजारमा सेयर कारोबार गर्दा लगानीकर्ता स्वयम् ब्रोकर हाउसमा उपस्थित भइराख्नु पर्दैन । केही पहिला ब्रोकर अफिस नै पुग्नुपर्ने बाध्यता रहे पनि त्यसमा धितोपत्र बोर्डले सहजीकरण गरी आफ्ना ब्रोकरहरुलाई लगानीकर्ताले फोन वा एसएमएसबाटै खरीदबिक्रीको आदेश टिपाउनसक्ने र त्यस्तो आदेशको ब्रोकरले रेकर्ड राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । 

ब्रोकरसँग राम्रो सम्बन्ध भएपछि फोनबाटै खरीदबिक्री आदेश दिन सक्छन् । सेयर कारोबारीहरुका व्यस्तता र अफ्ठ्याराहरुले गर्दा उनीहरु स्वयम् उपस्थित नभई फोन वा एसएमएसबाट समेत खरीदबिक्रीको आदेश टिपाउने नेपाली अभ्यास छ । 

फोनबाट अर्डर टिपाउँदा बीस–तीस, पचहत्तर–पच्चीस जस्ता शब्दहरुले क्लोजआउटका समस्या आउने गरेका छन् । अर्डर दिने क्रममा गल्ती लगानीकर्ताबाट नै भए पनि दोष भने सबैले ब्रोकरलाई नै लगाउने गरेको जानकार बताउँछन् ।

‘लगानीकर्ताले अर्डर फर्म भरेर ब्रोकरकोमा दर्ता गरिसकेपछि मात्र ट्रेडिङ्गका लागि योग्य हुन्छ र हामीले सोही अनुरुप अर्डरलाई इन्ट्री गर्ने गरेका हुुन्छौं।’–ब्रोकर अफिसका एक कर्मचारीले बिजशालासँग भने–‘फोनबाट अबुझ लगानीकर्ताले अर्डर गर्दा बचन फेर्ने र दिनभरिको मूल्यमा हुने उत्तारचढावलाई सहजै नस्वीकारी शंकाले हेर्ने भएर नै हामीले अर्डर फर्म भराउन बाध्य भएका हौं ।’ 

बजार आधुनिक र खरीदबिक्रीको शैली भरपर्दो नहुँदा विदेशमा बसेर सेयरमा लगानी गर्ने नेपालीहरुलाई झनै ठूलो समस्या हुने गरेको छ । धरान घर भई कोरियामा रोजगारी गर्दै आएका ललित लिम्बूले नेप्से घट्दा सेयर किन्न नपाउने र बढ्दा बेच्न नपाएकोमा दुःखेसो गरे । उनले आफूजस्तै विदेशमा बस्ने नेपालीले सेयरमा लगानी गर्न चाहने र उनीहरुका लागि इमेलबाट खरीदबिक्रीको आदेश दिनसक्ने व्यवस्था भए पनि अर्डर फर्म स्वयम्ले भर्नैपर्ने अर्को व्यवस्थाले बजारका बग्रेल्ती अवसर हातबाट गुमाउन पर्ने अवस्था रहेको बताए ।

यसैगरी, आफूसँग भएको सेयर बेच्दा पनि डीआईएस सक्कलै दिनुपर्ने बाध्यता रहेका कारण विदेशमा गएका बेला सेयर बिक्री गर्न खोज्ने(चाहने)लाई समस्या पर्ने गरेको जानकार बताउँछन् । बजारका विज्ञहरु सेयर कारोबारलाई व्यवस्थित र अनुशासित गर्न बनेका ऐन कानूनहरुमा विरोधाभास व्यवस्था हुन नहुने र लगानीकर्ता आफू विदेशमै भएको बेला समेत सहजै खरीदबिक्री गर्न पाउने व्यवस्था हुनुपर्ने बताउँछन् । ब्रोकरहरुले समेत श्रीलंका, भारत लगायतका देशका सेयर बजारबाट पाठ सिकेर नेपालका नियामक निकायहरुले समेत लगानीकर्ता र ब्रोकरलाई सहज हुने गरी खरीदबिक्रीको व्यवस्था गरिदिनुपर्ने माग गरे । 

साउन १ गतेबाट परीक्षणमा आएको पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीमा लगानीकर्ताले लगइन गरी अर्डर म्याच भए नभएको मात्र हेर्न मिल्छ । यसको अर्थ सो प्रणालीमा लगानीकर्ता आफैंले अर्डर पोस्ट गर्न पाउँदैनन् । यसले समेत सो प्रणालीप्रति लगानीकर्ता उत्साहित देखिदैनन् । 

सो प्रणालीमा लगानीकर्ताले पर्याप्त अभ्यास नगरेका, उनीहरुलाई अभ्यस्त पार्ने काममा विभिन्न पक्षबाट असहयोग भएका लगायतका गुनासाहरु पनि आउन थालेका छन् । परीक्षणमा रहेको अनलाइन प्रणालीमा लगानीकर्ताको सहभागिताका लागि नियामक निकाय, बजार संचालक र अन्य सम्बद्ध पक्ष समेत गम्भीर हुनुपर्ने देखिन्छ । 

अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आएपछि पनि सेयर खरीदबिक्रीको आदेश दिंदा वा लिंदा सुरक्षित उपाय अपनाउनुपर्ने पाठ आफूहरुले श्रीलंका र भारत भ्रमणबाट सिकेको ब्रोकरहरु बताउँछन् । 

उनीहरुले मुम्बई स्टक एक्सचेञ्जको समेत हालै भ्रमण गरिसकेका छन् । त्यहाँको बजारमा भएको प्रयोगहरु हेरेर आएका उनीहरु अनलाइन प्रणालीको कार्यान्वयनसँगै नेपाली सेयरबजारलाई समेत झञ्झटरहित बनाउनुपर्ने र प्रविधिको प्रयोग गर्दा जोखिमरहित बाटो रोज्नुपर्नेमा जोड दिन्छन् । 

ब्रोकरहरुले भारतका स्टक एक्सचेञ्जहरुमा प्रयोगमा आएका सफ्टवेयर नै नेपाली बजारमा समेत प्रयोगमा ल्याइए पनि त्यसको विश्वसनीयतामाथि प्रश्न समेत उठाएका छन् । ‘त्यही सफ्टवेयर प्रयोग गरी कारोबार गर्दा भारतको सेयर बजार निकै व्यवस्थित र भरपर्दो देखिन्छ । त्यहाँको बजार आधुनिक र व्यवस्थित भएकै कारण विश्वकै गन्तीमा आउँछ ।’ भ्रमण टोलीमा सहभागी एक ब्रोकरले भने–‘तर, भारतमै चलेको सफ्टवेयर भित्र्याउँदा समेत नेपालको कारोबार प्रणाली किन भरपर्दो हुन सकिरहेको छैन ? खोजी गर्नुपर्ने आवश्यकता समेत छ।’