काठमाण्डौ । अमेरिकाको प्रतिष्ठित फोब्र्स मिडियाका प्रधान सम्पादक स्टीव फोब्र्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको भारु ५ सय र १ हजारमाथि प्रतिबन्ध लगाउने घोषणाको तीखो आलोचना गरेका छन् ।

उनले नोटबन्दीको निर्णयलाई ‘अनैतिक काम’को संज्ञा दिंदै सो कामलाई जनताको पैसामाथि सरकारले डकैती गरेको रुपमा बुझिने बताएका छन् ।

स्टीव फोब्र्सले नोटबन्दीको घोषणामा केन्द्रीत रही सम्पादकीय लेखेका छन् । यो सम्पादकीय सन् २०१७ जनवरी २४ मा प्रकाशित हुने म्यागेजिनको पछिल्लो अंकमा पढ्न पाइन्छ । तर, फोब्र्सको वेबसाइटमा यो सम्पादकीय अहिले नै प्रकाशित भइसकेको छ । 

फोब्र्सले लेखेका छन् कि मोदी सरकारले बिना कुनै चेतावनी देशको ८५ प्रतिशत मुद्रालाई ध्वस्त गरिदिएको छ । हैरान जनतालाई नोट परिवर्तनका लागि केही हप्ताको मात्र समय दिएर मोदीले अनैतिक काम गरेका टिप्पणी गरिएको छ । 

फोब्र्सले नोटबन्दीको घोषणाअघि हुनुपर्ने पूर्वतयारीमा भएका कमजोरीहरुको बिषयमा समेत तीखो टिप्पणी गरेका छन् । फोब्र्सका अनुसार भारतीय सरकारले उचित मात्रामा नयाँ नोट छाप्नेतर्फ ध्यान नै दिएन । जुन नयाँ नोट छापियो, त्यसको परिमाणमा पनि ध्यान दिइएन, जसका कारण एटीएमबाट पैसा पाउन जनताले कयौं दिनसम्म लाइनमा बस्नुपर्ने बाध्यता आइलाग्यो । फोब्र्सले भनेको छ कि भारत एक हाइटेक पावरहाउस हो, तर अर्कोतर्फ यहाँ अझै पनि करोडौं नागरिक गरीबीको रेखामुनि छन् भन्ने कुरा बिर्सन हुन्न । 

फोब्र्सको सम्पादकीयमा लेखिए अनुसार यो निर्णयपछि भारतका धेरै विजिनेश तथा उद्योग बन्द भएका छन, यसकारण हजारौ मजदूर शहर छाडेर गाउँ जानुुपरेको छ । असंख्य कम्पनीलाई तलब भुक्तान गर्न निकै सकस भइरहेको छ । 

फोब्र्सले आफ्नो सम्पादकीयमा कडा शब्दको प्रयोग गर्दै नोटबन्दीको कदमलाई ‘जनताको पैसामा डकैती’ भनेको छ । फोब्र्सले नोटबन्दीकै कारण भारतमा आतंकवादी गतिविधि कम हुने नरेन्द्र मोदीको तर्कलाई अस्वीकार गर्दै ‘हास्यास्पद घोषणा’ भनेको छ । उसले भारतीय अर्थव्यवस्थालाई नगद(क्यास)मा आधारित भन्दै डिजिटाइजेसन समय र फ्रि मार्केट इकोनोमीको मागले आफैं हुने कुरा रहेको स्पष्ट पारेको छ ।