काठमाण्डौ । चर्चित मोटर निर्माता कम्पनी फोर्डले गाडी निर्माण गर्ने क्रममा फालिएका प्लास्टिकको बोतलहरु प्रयोग गरिरहेको छ भन्दा अचम्म लाग्न सक्छ । तर वास्तविकता यही हो ।

कम्पनीले गाडी निर्माणका क्रममा अन्डरबडी शिल्ड बनाउन प्लास्टिक प्रयोग गर्छ । अन्य प्रकारको प्लास्टिक प्रयोग गर्नुको साटो कम्पनीले हरेक वर्ष फालिएका प्लास्टिकका बोतल संकलन गरी त्यसलाई रिसाइकल गरेर प्रयोग गर्दै आएको हो ।

प्रत्येक वर्ष कम्पनीले गाडी निर्माणका क्रममा यस्ता फ्याकिएका १२० करोड बेवारिसे प्लास्टिकका बोतल रिसाइकल गरेर गाडीमा प्रयोग गरिरहेको छ । कम्पनीका अनुसार उसको यो सानो प्रयासबाट केही हदसम्म भए पनि वातावरण स्वच्छ राख्न सहयोग पुग्ने गरेको छ ।

फोर्ड मोटर कम्पनीका डिजाइनर थोमस स्वेडरकाअनुुसार फोर्डको सबै गाडीमा एउटा ठूलो भाग अन्डरबडी शील्डको हुने गर्दछ । यो बनाउन ठूलो मात्रामा प्लास्टिकको आवश्यकता पर्दछ । ठोस प्लास्टिक प्रयोग गर्दा गाडीको तौल बढ्ने भएकाले प्रत्येक वर्ष कम्पनीले लगभग १२० करोड फ्याँकिएका प्लास्टिकका बोतललाई रिसाइकल गरेर ठोस प्लास्टिकको साटो गरिरहेको उनले बताए । बोतलवाला प्लास्टिक ठोस प्लास्टिकभन्दा तीनगुणा हल्का हुन्छ र टिकाउ पनि हुने गर्दछ ।

फोर्डले आफ्ना सबै कार, एसयूभी, एफ सिरिज, ट्रक र अन्य गाडीमा बोतलको प्लास्टिक प्रयोग गरिरहेको छ । कम्पनीले यो प्लास्टिक इन्जिन अन्डर शिल्ड्स, फ्रन्ट तथा रियर ह्विल, आर्च लाइनर्सको निमार्णका लागि उपयुक्त मानिन्छ ।

फोर्डले सन् २०२० मा यो प्लास्टिकलाई गाडीको भित्री भागमा पनि प्रयोग गर्ने योजना बनाइरहेको छ । गाडीको भित्री भागमा यो प्लास्टिक प्रयोग गर्दा गाडीभित्रको वातावरण चिसो र शान्त भइरहने कम्पनीको दाबी छ ।

धैरैजसो मोटर कम्पनीले पछिल्लो एक दशकमा गाडीको भित्रीभागमा प्लास्टिकको प्रयोग बढाइरहेका छन् । रिसाइकल गर्दा पहिला प्लास्टिकको बोतललाई ससाना टुक्रा पारिन्छ र त्यसपछि त्यसलाई पगालेर फाइबरमा परिणत गरिन्छ । यसरी परिणत गरिएको फाइबरलाई अन्य प्रकारको फाइबरसँग प्रशोधन गरेर कपडाको आकार दिइन्छ । यसपछि त्यो कपडा गाडीको अलग–अलग भागमा प्रयोग गरिन्छ । – एजेन्सी