काठमाण्डौ । अमेरिकाको आर्थिक वृद्धिदरमा गत वर्षको अन्तमा सामान्य गिरावट आएको छ, तर कतिपय अर्थशास्त्रीले भनेजस्तो धेरै तल भने खसेको छैन । 

अमेरिकाको वार्षिकीकृत जीडीपी ग्रोथ चौथो त्रैमासमा २.६ प्रतिशत कायम भएको हो ।  

अघिल्ला तीन महिनाको भन्दा यो ग्रोथ सुस्त हो, तर अघिल्लो वर्षको यही अवधिको तुलनामा भने यो ग्रोथ तीव्र हो । 

कतिपयले अमेरिकाको आर्थिक वृद्धिदर निकै तल हुने अनुमान गरेका थिए । एटलान्टाको फेडेरल रिजर्बले १.८ प्रतिशत र थम्सन रोयटर्सका अर्थशास्त्रीहरुले १.४ प्रतिशत मात्र हुने दाबी गरेका थिए । 

कतिपय अर्थशास्त्रीहरुले चीन र यूरोपमा घट्दो जीडीपी ग्रोथले अमेरिकाको आर्थिक वृद्धिदर समेत घटाइदिने दाबी गरेका थिए । किनभने अमेरिकाको अर्थतन्त्र यी देशहरुसँगको व्यापारमा आधारित रहेको छ । अमेरिका र उसका व्यापार साझेदार देशबीच बढेको व्यापार तनावले अमेरिकाका अधिकांश ठूला कम्पनीहरुको सेल्समा निकै ठूलो असर परेको थियो । विशेष गरी एप्पल र क्याटरपिलर(क्याट)जस्ता कम्पनीको सेल्समा निकै ठूलो नकारात्मक असर परेको थियो । यही कारण गत वर्ष धेरै अमेरिकन कम्पनीका लागि नयाँ खरीद आदेश आएन ।

अमेरिकामा यही बेला बेरोजगारी दर ५० वर्षकै न्यून कायम भयो, तर यही बेला उपभोक्ताहरुको खर्च गर्ने क्षमता भने बढ्यो । यस्तै, विजिनेश इन्भेष्टमेन्ट समेत निकै बलियो बनी ६.२ प्रतिशत कायम भयो । यसले ओभरअल जीडीपी ग्रोथलाई सपोर्ट गर्यो ।

चौथो त्रैमासमा भउको सोलिड ग्रोथले वर्षभरिकै आर्थिक वृद्धिदरलाई २.९ प्रतिशतमा पुर्याइदियो । अमेरिकाका लागि सन् २०१५ पछिकै राम्रो आर्थिक वृद्धिदर भएको यो नै उत्कृष्ट वर्ष साबित भएको छ । 

तर, कतिपय अर्थशास्त्रीले अमेरिकाको बढ्दो अर्थतन्त्रमा समस्या हुनसक्ने डर समेत व्यक्ति गरिरहेका छन् । उनीहरुले यसको कारणको रुपमा न्यून बेरोजगारी दरलाई लिएका छन् । न्यून बेरोजगारीदर उपभोक्ताका लागि राम्रो हो, तर आवश्यक पर्याप्त जनशक्तिको अभावमा यहाँको विजिनेश नराम्ररी प्रभावित हुनसक्छ । यसले अमेरिकाको बढ्दो जीडीपी ग्रोथको गतिलाई सुस्त बनाइदिनसक्ने विश्लेषण उनीहरुले गरिरहेका छन् । 

चीन र यूरोपको अर्थतन्त्र अझै तल झर्नसक्ने र त्यसको असर समेत आगामी दिनमा अमेरिकाको जीडीपी ग्रोथमा पर्नसक्ने विश्लेषण गर्नेहरु पनि छन् । बेलायतले यूरोपियन यूनियन छाडेपछिको अनिश्चितताको विषयले समेत यो वर्षको अन्तसम्ममा अमेरिकाको ग्रोथलाई नकारात्मक ढंगले हिट गर्नसक्ने विश्लेषण गर्नेहरु समेत छन् ।

अमेरिकाका अर्थशास्त्रीहरुले यति हुँदा हुँदै पनि सन् २०१९ का लागि अमेरिकाको जीडीपी ग्रोथ २.२ प्रतिशत हुने र सन् २०२० मा भने घटेर १.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेका छन् । 
-एजेन्सीको सहयोगमा