काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण संकटमा परेका फ्रान्सका कार इन्डस्ट्रीलाई मद्दत गर्न राष्ट्रपति इम्यानुएल म्याक्रोनले ८ अर्ब युरो दिने घोषणा गरेका छन्।

उत्तरी फ्रान्सस्थित वालेयो कार पार्ट फ्याक्ट्रीको अनुगमन गर्दै राष्ट्रपति म्याक्रोनले आर्थिक मद्दतको घोषणा गरेका हुन्। ‘अहिलेको स्वास्थ्य संकटका कारण यहाँका कार इन्डस्ट्री नराम्ररी प्रभावित छन्’, उनले भने, ‘कार इन्डस्ट्रीहरु हाम्रो अर्थव्यवस्थाको अहम हिस्सा हुन्। यी इन्डस्ट्रीहरुले हजारौँ मानिसलाई जागिर पनि दिएका छन्।’

फ्रान्समा कार इन्डस्ट्रीहरुमा करिब ९ लाख मानिसले जागिर पाएका छन्। 

राष्ट्रपति म्याक्रोनले आउँदो ५ वर्षमा इलेक्ट्रिक र हाइब्रिड कार उत्पादनको क्षेत्रमा फ्रान्स युरोपमै सबैभन्दा अगाडि पुगोस् भन्ने आफ्नो चाहना रहेको सुनाए। ‘हामीले एउटा लक्ष्य बनाउन आवश्यक छ। आउँदो ५ वर्षसम्म हामी हरेक वर्ष १० लाखभन्दा बढी इलेक्ट्रिक र हाइब्रिड कार देशमा बनाउनुपर्छ’, उनले भने।

राष्ट्रपति म्याक्रोनले देशमा इलेक्ट्रिक कार खरिदमा सरकारले दिँदै आएको अनुदानमा बढोत्तरी गर्ने घोषणा पनि गरे। उनले भने, ‘पहिले सरकारले इलेक्ट्रिक कार खरिदमा दिँदै आएको ६ हजार युरो अनुदान अब बढाएर ७ हजार युरो पुर्याइनेछ।’

म्याक्रोनले विदेशमा उत्पादित कारको खपत कम गर्दै देशभित्रै उत्पादिन कारको खपत बढाउनुपर्नेमा जोड दिए। – एजेन्सी