काठमाण्डौ । विश्वकै सबैभन्दा सस्तो कारको रुपमा लञ्च भएको टाटाको नानो कारको बिक्री न्यूनतम बिन्दूमा झरेको छ । अटो उद्योगको अक्टोबरको सेललाई आधार मान्ने हो भने यो कारको बिक्री शून्यमा झरेको छ । बिक्री मात्र होइन, भारतबाट अन्य देशतर्फको निर्यात समेत शून्यमै झरेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ। कुनै बेला रतन टाटाको सपना समेत भनिएको यो कार २००८ मा लञ्च भएपछिको अवस्थामा कुनै पनि वर्ष आशा गरिए अनुसार बिक्री हुन सकेन।

प्रदर्शन र सेल्समै गिरावट
एक तथ्यांक अनुसार टाटा मोटर्सले अक्टोबर अवधिमा भारतभर ५७ वटा नानो कार मात्र बिक्री गर्यो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७२६ वटा नानो कार बिक्री गरेको थियो । बिक्रीसँगै नानोको उत्पादनमा समेत उस्तै गिरावट आइरहेको छ । कम्पनीले अघिल्लो महिना ७४ वटा नानो कार मात्र उत्पादन गर्यो । गत वर्षको यही अवधिमा कम्पनीले ७२० वटा नानो कार उत्पादन गरेको थियो । 

यस्तै, गत ६ महिनाको तथ्यांकलाई हेर्ने हो भने नानो कारको प्रदर्शन सन्तोषजनक रहेन । कम्पनीले यो ६ महिनाको अवधिमा १४९३ वटा नानो कार मात्र बिक्री गर्न सक्यो । अघिल्लो वर्षको यही अवधिमा टाटाले ५ हजार १ सय ८५ वटा नानो कार बिक्री गरेको थियो । 

रिपोर्ट अनुसार अक्टोबरमा नानो कारको निर्यात शून्यमा झरेको छ, जबकि गत वर्ष यही अवधिमा ८३ वटा कार निर्यात गरिएको थियो । 

इलेक्ट्रिक भर्जन आउँदै
रिपोर्ट अनुसार टाटा नानोको इलेक्ट्रिक भर्जन निकट भविष्यमै सार्वजनिक हुनसक्ने संभावना छ । यो भर्जनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक गर्न सक्नेछन् । सो कारको नाम समेत निकै विशेष हुनसक्छ । यसलाई ‘नियो’ भन्ने नामबाट लञ्च गर्ने संभावना रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

‘नियो’मा हुनसक्छ यस्तो विशेषता
‘नियो’मा ४८ भोल्टको इलेक्ट्रिक सिस्टम दिइएको छ, जसबाट २३ हर्सपावरको क्षमता उत्पादन हुनसक्छ । यो कारको वजन करिब ८०० किलो हुनसक्छ, जबकि ६२३ सीसीको पेट्रोलवाला टाटा नानोको वजन ६३६ किलोग्राम रहेको छ । खबरका अनुसार इलेक्ट्रिक नानोलाई सिटी ट्याक्सीको रुपमा प्रयोग गर्ने हिसाबले उत्पादन गरिएको छ, व्यक्तिगत प्रयोगको प्रयोजनका हिसाबले होइन । समाचार अनुसार यो इलेक्ट्रिक नानो कार एकपटक फूल चार्ज भएपछि २०० किलोमिटरसम्म दौडन सक्नेछ । तर, ४ व्यक्तिलाई राखेर एसी समेत चलाउँदा भने यसले फूलचार्जमा १४० किलोमिटरको यात्रा मात्र तय गर्न सक्नेछ ।