काठमाण्डौ । लगानीकर्ताहरुको लगातारको विश्वासका कारण विगत लामो समयदेखि धेरै सेयर कारोबार गर्ने कम्पनीको सूचिमा हरेक दिन उत्कृष्टता हासिल गर्दै आएको नेपाल बंगलादेश बैंकका लगानीकर्ता मालामाल बन्ने भएका छन् । 

यो बैंकले बोनस सेयर र सोच्दै नसोचेको निकै ठूलो मात्रामा हकप्रद सेयर वितरणको तयारी थालेपछि यसका लगानीकर्ताको  हातैभरि लड्डू नै लड्डू हुने अवस्था देखिएको हो । 

नेपाल बंगलादेश बैंकले आफ्ना लगानीकर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बोनस सेयरको वितरणपछि यो बैंकले ८० प्रतिशत हकप्रद पनि निश्कासन गर्ने निश्चित भइसकेको छ । 

भदौ १७ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस सेयर र १.७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

तर, संचालक समितिको यो घोषणा कम्पनीको आगामी साधारणसभा र नेपाल राष्ट्रबैंकबाट स्वीकृत हुनुपर्छ । 

आर्थिक वर्ष २०७१/७२ को नाफाबाट यो बैंकले गत वर्ष लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 
आर्थिक वर्ष २०७२/७३ मा यो बैंकले १ अर्ब १९ करोड खूद नाफा आर्जन गरेको छ । यसको चुक्तापूँजी अहिले ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ३२ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४ अर्ब पुग्नेछ । त्यसपछि ८० प्रतिशत हकप्रद निश्कासन हुने र यसको व्यवस्थापनपछि नेपाल बंगलादेश बैंकको चुक्तापूँजी ७ अर्ब २२ करोड रुपैयाँ पुग्नेछ । 

बोनस सेयर र हकप्रदको कुरा समेत सार्वजनिक भएपछि आइतबार बजार खुल्ने बित्तिकैदेखि नेपाल बंगलादेश बैंकको सेयरमा अचाक्ली आकर्षणा बढेको छ । यो समाचार तयार पार्दासम्म(बिहान ११ : २२ बजेसम्म)मै बंगलादेश बैंकको ९ करोड बढीको सेयर  किनबेच भइसकेको छ ।