काठमाण्डौ । नेपाल बंगलादेश बैंकले बिक्री नभएको ९ लाख ८८ हजार १ सय २०.८० कित्ता हकप्रद बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

यो बैंकले आगामी असार १४ गतेदेखि बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।

यो बैंकले बैशाख ७ गतेदेखि १० बराबर ८ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । निश्कासित हकप्रदमध्ये साधारणतर्फ ९ लाख ६८ हजार ६ सय ९.८० र संस्थागततर्फ १९ हजार ५ सय ११ कित्ता बोलकबोलबाट बिक्री गर्ने भएको हो ।

लिलामीको प्रक्रियामा असार २१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । असार २३ गते बोलकबोलको अन्तिम नतिजा प्रकाशन हुने बताइएको छ ।

बोलकबोलमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य प्रस्ताव गर्नैपर्नेछ भने न्यूनतम
१ सय कित्ताका लागि आवेदन दिनैपर्नेछ ।

ग्लोबल आइएमई क्यापिटल लिमीटेडले लिलामी प्रक्रियामा बिक्री प्रबन्धकको काम गर्नेछ ।

काठमाण्डौको जमलस्थित बिक्री प्रबन्धकको कार्यालयमा गएर इच्छुकले आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

यो बैंकको अन्तिम सेयर कारोबार मूल्य प्रतिकित्ता ४ सय ३ रुपैयाँ रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८२ करोड ७६ लाख खूद नाफा आर्जन गरेको थियो ।