काठमाण्डौ । नेपाल बंगलादेश बैंकको सेयर सस्तोमै उठाउने अवसर खुलेको छ । यो बैंकले बिक्री नभएको ९ लाख ८८ हजार १ सय २०.८० कित्ता सेयर बोलकबोलबाट बिक्री गर्नका लागि बुधबारदेखि गोप्य शिलबन्दी दरखास्त आह्वान गरेको हो । 

यो बैंकले गत बैशाख ७ गतेदेखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा साधारणतर्फ ९ लाख ६८  हजार ६ सय ९.८० कित्ता र संस्थागततर्फ १९ हजार ५ सय ११ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको यही सेयर बोलकबोलबाट बिक्री गर्ने उद्देश्यले लिलामीका लागि आवेदन मागिएको हो । 

लिलामीमा सहभागी हुन चाहनेले आगामी असार २१ गतेसम्म गोप्य दरखास्त दिइसक्नुुपर्ने र लिलामीको नतिजा आगामी असार २३ गते सार्वजनिक हुने बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ । 

इच्छुक लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य तोक्नैपर्नेछ भने न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ । काठमाण्डौको जमलस्थित ग्लोबल आइएमई क्यापिटल लिमीटेडको मुख्य कार्यालयमा गएर इच्छुकले गोप्य शिलबन्दी दरखास्त दिनसक्ने व्यवस्था मिलाइएको छ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८२ करोड ७६ लाख खूद नाफा आर्जन गरेको थियो भने यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३ सय ९५ रुपैयाँ रहेको छ ।