काठमाण्डौ । बजाज कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि.ले आफ्नो बजाज सर्भिस सेन्टर गुसिङ्गाल, कुपण्डोल, ललितपुरमार्फत बजाज मोटरसाइकल चलाउने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै रात्रिकालीन मोटरसाइकल सर्भिस सेवाको सुरुवात गरेको छ । 

दिनभर अफिस, ब्यापार ब्यवसाय, सेवा आदिमा ब्यस्त भई आफ्नो मोटरसाइकल सर्भिस गर्न समय नमिल्ने र दिनभरलाई सर्भिस सेन्टरमा राख्दा हरेक कुराहरुमा प्रत्यक्ष प्रभाव पर्ने समस्यालाई मध्यनजर राख्दै अब रातमा पनि सर्भिसिङ्ग सेवा दिने उद्देश्य अनुरुप सेवा प्रारम्भ भएको हो । 

बजाज सर्भिस सेन्टरमा रहेका दक्ष कर्मचारीहरुले सर्भिसका लागि छाडेर गएको मोटरसाइकल सर्भिस गरी समयभित्र उपलब्ध गराउने छन् । सर्भिस सेवाका लागि आफ्नो मोटरसाइकल साँझ ५ बजेदेखि ७ बजेसम्म बजाजको गुसिङ्गाल, कुपण्डोल स्थित सर्भिस सेन्टरमा पुर्याउनुपर्ने हुन्छ । मोटरसाइकल लिन आउने समय राति १० बजेसम्म अथवा भोलिपल्ट बिहान ९ः३० बजे देखि हुने बताइएको छ ।