काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड तथा अन्य सम्बद्ध निकायले समेत पटक–पटक लगानीकर्तालाई सम्हालिएर लगानी गर्न सचेत गराइरहेका भए पनि बजार पुनः अस्वभाविक रुपमा बढी आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल देखिएको छ । 
 

साताको पहिलो कारोबारको दिन आइतबार बैकिङ समूहको शेयर कारोबार चम्किँदा समग्र नेप्से उचालिएर पुनः ऐतिहासिक उचाईमा पुगेको हो । आइतबार एकैदिन २०.१९ अंकले बढ्दै नेप्से परिसूचक १३७७.३३ मा पुगेको छ भने कारोबार रकम पनि एक अर्ब माथि पुगेको छ । आइतबार बजार खुल्दा नेप्से परिसूचक १३५७.१४ अंकमा सीमित थियो । त्यसपछि लगातार बुलिस ट्रेन्ड देखिएको बजारमा दोहोरो अंकको वृद्धि हुँदै नेप्सेमा नयाँ उचाई कायम भएको हो । 
 

आइतबार बजारलाई बुलिस बनाउन बैकिङ समूहको महत्वपूर्ण योगदान रह्यो । आइतबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीमा ८ स्थान बैंकहरुले नै कब्जा गर्न सफल रहे । 
 

आइतबार १४ लाख ८६ हजार कित्ता शेयर ४ हजार ५ सय २९ वटा कारोबारबाट खरीदबिक्री हुँदा बजारमा १ अर्ब १४ करोड पूँजी परिचालन भयो । विगत केही महिनाको अवधिमा कारोबार रकम समेत यो विन्दूमा पुगेको आइतबार नै पहिलोपटक हो । केही साताअघि कारोबार रकम एकअर्ब रहे पनि त्यहाँबाट उकालो लागी आइतबारको जस्तो थप १४ करोड बढीको कारोबार भएको थिएन । 
 

नेप्से परिसूचकमा उछाल आई बैकिङ समूह चम्किएकै कारण सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ४.८२ र १.६७ अंकले उकालो लागे । 
 

वाणिज्य बैंकको शेयरमा लगानीकर्ता झुम्मिएर बजारमै नयाँ रेकर्ड कायम भए पनि आइतबार विकास बैंक र अन्य समूहको परिसूचकमा भने गिरावट आयो । यी बाहेक अन्य सबै समूहको परिसूचक हरियोमय भएको थियो । बैकिङ समूहको सूचक ३६.५४ अंकले वृद्धि भयो । 
 

विश्लेषकहरुले नेप्से परिसूचक अस्वभाविक रुपमा बढिरहेकोले सचेत भएर लगानी गर्न फेरि पनि आग्रह गरेका छन् । देशको अर्थतन्त्रमा खासै सुधार नभएको अवस्थामा शेयर बजारमा चाहि दैनिकजसो बुलिस टे«ण्ड देखिएपछि नेपाल धितोपत्र बोर्ड र अन्य नियामक निकाय बजारमा दुर्घटना हुने डरले चिन्तित छन् । अस्वभाविक र अप्राकृतिक रुपमा बजार बुलिस भएको भन्दै उनीहरुले लगानीकर्तालाई हौवाको पछि नकुद्न र सम्हालिएर लगानी गर्न आग्रह गरेका छन् । 
केही विश्लेषकहरुले भने हल्लाको भरमा दैनिकजसो बुलिस भइरहेको बजार तत्काल नियन्त्रण असंभव रहेको र नेप्से परिसूचक बढेर १५ सयसम्म पुग्ने दाबी गरिरहेका छन् ।