काठमाण्डौ । कोरोना भाइरसको त्रासको नाममा बजारमा लगातार ठूलो गिरावट आएपछि अत्तालिएका लगानीकर्ताका नेताहरुले शुक्रबार नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर बजारको समस्या सम्बोधनको माग गरेका छन् ।

उनीहरुले कोरानाकै कारणले बजारमा तीव्र गिरावट आएको हो कि होइन, कोरानाका कारण बजारमा पर्नसक्ने प्रभाव लगायतका विषयमा बोर्डले आम लगानीकर्ताले बुझ्ने गरी सूसुचित गराइदिनुपर्ने माग समेत गरे ।  

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ लगायतका संगठनका नेताहरु शुक्रबार धितोपत्र बोर्डका अध्यक्षलाई भेट गरी कोरोनाको त्रास लगायतका कारण अन्यौलग्रस्त बनेको बजारमा सकारात्मक सम्बोधन गर्न माग गरेका हुन् । 

कोरोनाका कारण नै बजार चौपट भएको हो भने केही दिनका लागि कारोबार बन्द गर्नुपर्ने सुझाव समेत सो क्रममा दिइएको थियो । तर, बोर्ड अध्यक्ष ढुंगानाले भने बजार नै बन्द गर्नुपर्ने अवस्था नरहेको बताएका थिए । 

बोर्ड अध्यक्ष ढुंगानालाई भेटेर उनीहरुले बजारसँग सम्बन्धित अन्य जल्दाबल्दा समस्या समाधानको माग गरेका थिए । 

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलका अनुसार लगानीकर्ताहरुले हाल भयावह बन्दै गएको क्लोजआउटको समस्या समाधानका लागि तत्काल अक्सन मार्केट सुचारु गर्नुपर्ने, समय र परिस्थिति हेरेर मात्र दोश्रो बजारको सेयर कारोबार अवधि बढाउने विषयमा आवश्यक निर्णय लिनुपर्ने, दोश्रो बजारमा कारोबारी र लगानीकर्ताको वर्गीकरण गरी सोहीअनुसार कर लगायतका विषयमा सुविधा दिइनुपर्ने, ५ प्रतिशतलाई नै अन्तिम कर हुने गरी आवश्यक सम्बोधन गरिदिनुपर्ने माग बोर्ड अध्यक्ष समक्ष राखिएको थियो । 

लगानीकर्ताले राखेका अधिकांश मागप्रति बोर्ड अध्यक्ष सकारात्मक बनेका प्रतिनिधि मण्डलमा सहभागी नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । 

उनका अनुसार क्लोजआउटको समस्या बढिरहेकोमा बोर्ड पनि गम्भीर देखिएको छ । यसका लागि अक्सन मार्केट खुलाउने विषयमा तत्काल कुनै न कुनै निर्णय हुने अपेक्षा आफूहरुले गरेको रौनियारले सुनाए । 

यस्तै, बोर्ड अध्यक्ष ढुंगानाले कोरोना भाइरसको त्रासका कारण बजारमा परेको र पर्नसक्ने प्रभावको विषयमा आफूहरुले अध्ययन गरिरहेको उल्लेख गर्दै आइतबारदेखि कारोबार समय १ घण्टा थप हुनेमा जोड दिएका थिए । 'तर, आइतबारदेखि ट्रायलको रुपमा मात्रै कारोबार समय बढाउन खोजेका हौ ।' ढुंगानालाई उद्धृत गर्दै लगानीकर्ताका नेताले भनेका छन्-'त्यसपछिको अवस्था हेरेर, सरोकारवालाको सुझाव र प्रतिक्रियाको समेत अध्ययन गरी कारोबार अवधि अझै बढाउन पनि सकिन्छ, आवश्यक परे घटाउन पनि सकिन्छ ।' 

लगानीकर्ताका नेताहरुले कारोबार अवधि बढाउँदा बजार विकासमा टेवा पुग्ने भए पनि अवस्था हेरेर यो विषयमा ठोस निर्णय लिनुपर्नेमा जोड दिएका थिए । 

लगानीकर्ताहरुले ६ महिनासम्मका लागि सेयर कारोबार गर्नेहरुलाई ट्रेडरको रुपमा वर्गीकृत गर्नुपर्ने र त्यसभन्दा बढी अवधिका लागि लगानी गर्नेहरुलाई लगानीकर्ताको रुपमा वर्गीकरणमा राखी सोही अनुसारको पूँजीगत लाभकर तोकिनुपर्ने माग समेत गरेका थिए । यो विषयमा समेत बोर्ड अध्यक्ष सकारात्मक भएका बताइएको छ । 

बोर्ड अध्यक्ष ढुंगानाले सेयर बजारका लगानीकर्ताले ५ प्रतिशतलाई अन्तिम कर हुने व्यवस्था गरिदिने विषयमा राखेको माग आगामी बजेटबाट सम्बोधन हुनसक्ने संकेत समेत गरेका थिए । 

यस्तै, अध्यक्ष ढुंगाना लगानीकर्ताले गरेको मागअनुसार ब्रोकर कमिसन घटाउने विषयमा समेत सकारात्मक बनेका प्रतिनिधि मण्डलका सदस्यले बताएका छन् । 

लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा कर्मचारीको अभाव भएको र यो विषयमा समेत बोर्डले आवश्यक पहल गरिदिन भनेका थिए । 

लगानीकर्ताहरुले प्रत्येक महिनामा बढीमा २ र कम्तीमा पनि एकपटक बोर्ड, नेप्से, ब्रोकर र लगानीकर्ताहरुबीच नियमित अन्तरक्रिया गर्ने वातावरण समेत बनाइदिनुपर्ने माग गरेका थिए । 

डेढ घण्टा जति चलेको छलफलमा लगानीकर्ताहरुको तर्फबाट उत्तम अर्याल, ताराप्रसाद फूल्लेल, छोटेलाल रौनियार, तुल्सीराम ढकाल, राजन लम्साल, सिर्जना सुवेदी, अञ्जीव तुलाधार, अमर डंगोल, जगन्नाथ पूडासैनी, सुष्मा ढुंगाना लगायत सहभागी थिए ।