काठमाण्डौ । निरन्तर गिरावटको तिक्तता व्यहोर्दै आएको बजार मंगलबारको यात्रालाई पछ्याउँदै बुधबार समेत बढेको छ । मंगलबारको झै बुधबार पनि बजार परिसूचक झिनो अंकले बढ्यो भने कारोबार रकममा सामान्य वृद्धि भएको छ । 

मंगलबार र बुधबारको बजारको प्रदर्शन हेर्ने हो भने परिसूचकमा झिनो बढोत्तरीसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी देखिन्छ । बजार परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्दै जानुुलाई विश्लेषकहरु सुखद भविष्यका लागि शुुभसंकेत मान्दछन् । यो क्रम केही दिनसम्म निरन्तर रहे, बजार बढ्नसक्ने संभावना अधिक हुन्छ । 

बुुधबार नेप्से परिसूचक ३.३६ अंकले बढेर १५०५.९९ अंकको उचाईमा पुुगेको छ । यो दिन बैंकिङ, बित्त र उत्पादनमूलक समूहमा सामान्य गिरावट देखियो भने बाँकी सबै समूहको सूचकमा सामान्य बढोत्तरी भयो । 

बैकिङ समूह ०.६, बित्त समूह ०.१४ र उत्पादनमूलक १४.३३ अंकले घटे । तर, बिमा, विकास बैंक, जलविद्युत समूह क्रमशः ६०.०८, ०.५३ र १७.६३ अंकले बढेका छन् । होटल समूह ५.८३ अंक, टेडिंग समूह २.११ र अन्य समूह ८.९७ अंकले बढ्यो । क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८५ अंक तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.१५ अंकले बढेको छ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १ सय ६३ कम्पनीका ७ लाख ५४ हजार ५३ कित्ता सेयर ३२ करोड २३ लाख १० हजार ५ सय ५३ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले ३ करोड १० लाख बढीको कारोबार गर्यो । नागबेली लघुवित्त विकास बैंकको १ करोड ७९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा माछापुच्छे बैंकको पनि १ करोड ४१ लाख बढीको संस्थापक सेयर किनबेच भयो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ७ लाख बढीको कारोबार गर्यो भने एभरेष्ट बैंकले ८४ लाख, नेपाल लाइफले ८० लाख बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान विकास बैंक, एक स्थान बिमा कम्पनी र बाँकी एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी सिर्जना फाइनान्स बित्तीय संस्थाले कमाएको छ । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ७ प्रतिशतको हाराहारी तथा सहयोगी विकास बैंकले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाएका छन् । 

यो दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमायो । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो । काबेली विकास बैंक, खानीखोला हाइड्रोपावर कम्पनी, गोर्खाज फाइनान्सको सेयर मूल्य साढे ५ प्रतिशतको हाराहारीमा घट्न पुुग्यो ।