काठमाण्डौ । पूँजीबजारमा देखिएका समस्या समाधानका लागि लगानीकर्ताहरुको संघसंगठनले प्रधानमन्त्रीसँग गुहार मागेका छन् ।

लगानीकर्ताहरुको संघसंगठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पूँजीबजारमा देखिएका समस्याका विषयमा अवगत गराउन आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्रीलाई भेटघाटको समय उपलब्ध गराइदिन सार्वजनिक रुपमै आह्वान गरेका हुन् । विगतका वर्षमा अर्थतन्त्रको ऐना मानिने पूँजीबजारको नेप्सेको सूचांक १८८८ सम्म पुगेकोमा वर्तमान सरकारले अख्तियार गरेको नीतिका कारणले निरन्तर घट्दै ११२३ मा आइपुग्दा ७ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्दा धेरै लगानीकर्ता विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरुको ठहर छ ।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, सेयर लगानीकर्ता दबाब समूह र नेपाल पूँजीबजार संघद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा सरोकारवाला पक्षहरु अर्थ मन्त्रालय, सेबोन, नेप्से र सीडीएससीले आआफ्नो जिम्मेवारीबाट पन्छिँदै जाँदा पूँजीबजारमा गर्नुपर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका कार्यक्रम हुन नसकेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘५८ बुँदामा समावेश भइसकेका र सोही बुँदामा रहेको सुधारात्मक कार्यक्रमहरु कार्यान्वयन गर्नमा आनाकानी गर्ने काम भइरहेको छ ।’

अर्थमन्त्रीले पूँजी तथा मुद्रा बजार सुधारका लागि गठन गरेका उच्चस्तरीय कार्यदलले सुझाएका ५८ बुँदाको पूर्ण कार्यान्वयन नभएको भन्दै लगानीकर्ताका नेताहरु लामो समयदेखि असन्तुष्ट छन् ।

विज्ञप्तिमा वर्तमान अर्थमन्त्रीका अभिव्यक्ति र पूँजीबजारप्रतिको उदासीनताका कारण लगानीकर्ताको अर्बौंको सम्पत्ति बिक्री हुने वा लिलाम हुने अवस्थामा पुगेको ठहर गरिएको छ । यस्तो अवस्थामा पूँजीबजारको विकास तथा आमलगानीकर्ताको विश्वास कायम राख्न र भविष्यमा पूँजीबजारको विकासका लागि वातावरण बनाउन अपिल गरिएको छ ।

राजधानीमा मंगलबारमात्रै अर्थमन्त्री डा युवराज खतिवडाले दोस्रो बजारमा अहिले लगानीको सही समय रहेको उल्लेख गर्दै बजारप्रति विश्वास बढाउन सरोकारावालालाई सार्वजनिक आह्वान गरेका थिए । अर्थमन्त्रीको अभिव्यक्तिकै कारण सेयरबजारमा उछाल आएपछि लगानीकर्ताका नेताहरुले समेत संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।