-भक्तराज रसाइली
काठमाण्डौ । एक पात्र जसले नेपालको सेयर बजार सूचक(नेप्से इण्डेक्स) १८ सय ८१ विन्दूको सर्वाधिक उचाईमा पुग्दा १२ सय बिन्दूमा झर्छ भन्ने प्रक्षेपण गर्दै बारम्बार फेसबूकमार्फत भनिरहँदा धेरै लगानीकर्ताले ‘उत्तानो प्रसाद’को उपमा दिएर खिसीट्यूरी गर्ने गर्थे । नभन्दै अहिले नेप्से परिसूचक सेयर बजारले जुराइदिएको नयाँ नाम ‘उत्तानोप्रसाद’ उर्फ दुर्गाप्रसाद काफ्लेले भनेझैं १२ सय बिन्दू तल झरिसकेको छ ।

हिजोका दिनमा बजारमा चर्चाको केन्द्रमा रहेका र कैयन लगानीकर्ताको तारो बनेका ती पात्र अहिले किन गुमनाम छन् ? कहाँ र के गर्दै होलान् ? बिजशालाले यो पटक तिनै ‘विवादास्पद पात्र’लाई खोज्ने प्रयास गरेको छ । 

दुर्गाप्रसाद काफ्ले उर्फ उत्तानो प्रसाद अहिले आफ्नै गृहनगरमै डिलरसीप व्यवसाय गरेर बसिरहेका छन् । ३० वर्षीय काफ्ले देवचूली नगरपालिका वडा नम्बर १६ नवलपुर जिल्लाका स्थायी बासिन्दा हुन् । 

सेयर लगानीकर्ताहरुले सोचेझैं वा सामाजिक सञ्जालमा भनिए झै उनी असफल भएर उत्तानो भएका लगानीकर्ता होइनन्, बरु १८ सयको उच्च बिन्दूमा आफूसँग भएका अधिकांश सेयर बिक्री गरी बजारबाट निस्किएका सीमित बाठा लगानीकर्तामध्येकै एक हुन् । 

हाल उनी नवलपुरमा खाद्यान्न तथा ग्रोसरी आइटमको डिलरसीप खोलेर बसेका छन् । उनले व्यापारमा समेत सफलता हासिल गरिरहेका स्थानीय बताउँछन् । 

व्यापारबाहेक उनी विभिन्न सामाजिक संघसंस्थामा समेत उत्तिकै क्रियाशील छन् । 

नेपाल पूँजीबजार संघका उपाध्यक्ष समेत रहेका काफ्लेले काठमाण्डौंको फोनिक्स कलेजबाट एमबीए गरेका हुन् । 

कमर्सका विद्यार्थी र एसीसीएका समेत विद्यार्थी भएकै कारणले नेपाली सेयर बजारसँग साइनो जोडिन पुगेको बताउने काफ्लेलाई एसीसीएका शिक्षक वरिष्ठ सीए श्यामकुमार महतोले केही हदसम्म प्रोत्साहन गरेका थिए । 

विगत सम्झदैं उनले भने–‘मैले बजारबाट गुमाउनभन्दा पनि धेरै कमाएको छु । २०६४ सालमा २ सय ९२ को इण्डेक्स हँुदा सेयर बजार छिरेको म १८८१ हुँदा आफूसँग भएको सेयरमध्ये करिब ९० प्रतिशत बिक्री गरी बजारबाट बाहिरिएको थिएँ ।’

मध्यम परिवारका उनका पिता व्यापारी भएको र सानैदेखि लगानी गर्नुपर्ने भन्ने पारिवारिक पृष्ठभूमिले गर्दा उनले काठमाण्डौंमा स्नातक र स्नातकोत्तर पढ्दा पढाई खर्च, बसाइ खर्च धान्नेदेखि विभिन्न मुलुक सेयरकै कमाइले घुमेको दाबी गर्छन् । 

उनले सेयरकै कमाइले दुबई, थाइल्याण्ड, ग्रीस, मलेसिया, जर्जिया लगायतका थुप्रै देश घुम्ने मौका पाए । ‘मलाई सेयरले धेरै दिएको छ ।’ धेरै हाइड्रोका प्रमोटरमा लगानी गरेका काफ्लेले सेयरकै कमाइबाट घडेरीसमेत जोडेको खुलासा गरे । 

सिद्धार्थ इन्स्योरेन्सको सेयर रु. १८३ मा किनेर २६ सय रुपैयाँमा बेचेको कुनै बेला सम्झँदा उनलाई सपना जस्तै लाग्छ । उनको दाबीलाई मान्ने हो भने उनले सेयरबाट धेरै नाफा मात्र कमाएका छन् । 

आफ्नो व्यापार डिलरसीप रहेको र सेयर बजारबाट पाएको ख्यातिकै कारणले सबै कम्पनीबाट बिना बैंक ग्यारेण्टी मालसामान पाउने गरेको सुनाउने काफ्लेले सेयरबाटै धेरैको विश्वास जितेका कारण त्यो प्रतिष्ठाले व्यापारमा समेत निकै राम्रो सहयोग पुगेको बताउँछन् ।

२०६४/०६५ सालताका दोस्रो बजारमा सिधै पाइला राखेका काफ्लेले नबिल बैंकको २५ कित्ता त्यत्तिबेला महङ्गो मूल्यमा खरिद गरेर छिर्दै प्राथमिक बजारमा चाहिँ प्राइम बैंकको आइपीओबाट लगानी सुरुवात गरेका हुन् । कुनै पनि कम्पनीले निश्कासन गरेको आइपीओ, एफपीओ हालसम्म भर्न नछुटाएको काफ्लेको दाबी छ । 

चिलिमेबाहेकका अन्य कुनै पनि कम्पनीको सेयर हालसम्म घाटामा बेच्न नपरेको उनको दाबी छ । 

नेप्से परिसूचक १२ सय विन्दूमा आएपछि केही सीमित व्यक्तिहरुको पूर्व योजना अनुसार बजारलाई फूलाएर माथि लगिएको उनको दाबी छ । ‘सोही अप्राकृतिक फुलाइका कारण मैले १८ सयको इण्डेक्स १२ सय आउँछ भनेको थिएँ ।’काफ्लेले भने–‘१२ सयकै विन्दूबाट फुलेको कारणले ६/७  सय विन्दू तल आउँछ भनेर त्यो बेला मेरो अन्तरआत्माबाट आएको थियो ।’

सेयरमा लगानी गरेर नगुमाएको दाबी गर्ने काफ्लेले १८ सय विन्दू प्लस हुँदा आफ्नो पोर्टफोलियोमा भएको १ करोड प्लसको सेयर ९० प्रतिशतभन्दा बढी बेच्न भ्याएका रहेछन् । 

हाल आइपीओमा लगानीलाई निरन्तरता दिए पनि दोस्रो बजारमार्फत चाहिँ १ महिनाअघिदेखि मात्र सेयर उठाउन सुरु गरेका काफ्लेले दाबी गर्दै भने–‘अहिलेको समय सेयर किन्ने सुवर्ण मौका हो ।’

अब बजार के होला भन्ने बिजशालाको जिज्ञासामा  २/४ महिना यस्तै लरखरिने र त्यसपछि बजार बिस्तारै सुधारिँदै अगाडि बढ्ने उल्लेख गर्दै भने–‘साउनबाट बजारले गति लिन्छ । त्यसबेलासम्म सरकारको काम समेत ट्रयाकमा आउँदा अर्थतन्त्र र पूँजीबजार दुवैले गति लिन्छ, यो कुरा म ठोकुवाका साथ भन्न सक्छु ।’

अहिलेको बजारलाई खरिद गर्ने बेला वा न्यूनतम विन्दू भन्न रुचाउने काफ्लेका अनुसार स्क्रिप्टहरु आइपीओकै रेटमा धूँइका धूँइ किन्न सल्लाह दिन्छन् । यो बखत निक्षेपमा भन्दा सेयरमा लगानी गरे भविष्यमा निकै राम्रो प्रतिफल हात लाग्ने भएकाले अर्थतन्त्र राम्रो हुँदै जाँदा बैंक तथा इन्स्योरेन्सका सेयरले ठूलै छलाङ मार्ने काफ्लेको विश्लेषण छ ।

काफ्लेले नवप्रवेशीलाई प्राथमिक बजारमा आइपीओ कुर्नुभन्दा एकैचोटि दोस्रै बजारमा झ्याम्मै हाम्फाल्न सुझाव दिन्छन् । ‘अहिलेको नेप्से(दोश्रो बजार) भनेको प्राइमरी हो । क्षमता अनुसारको, सुझबुझपूर्ण लगानी र अध्ययन आवश्यक हुन्छ । सेयर बजारमा लगानी गर्दा ऋण खोजेर ब्याजलाई नै धान्न नसक्ने गरी गर्नुहुँदैन ।’ उनले थपे ।

पत्रपत्रिका तथा बिजशाला जस्ता आर्थिक अनलाइनहरु नियमित हेर्नुपर्ने, सूचिकृत कम्पनीका वित्तीय विवरण पढ्नुपर्ने, सिनियर लगानीकर्तासँग सरसल्लाह लिनुपर्ने उनको बुझाई छ । सेयर खरिद गर्ने भन्दैमा एकैचोटि धेरै नकिन्न र थोरै–थोरै क्रमिक रुपमा किन्दै अल्पकालीन र दीर्घकालीन लगानीको रणनीति अनपाउनुपर्नेमा उनको जोड छ ।

बैंक ब्याजदरलाई हालको बजारको मुख्य चुनौति ठानेका काफ्ले व्यापारी व्यवसायीहरुको सेयर बजारमा ८० प्रतिशत बढी सहभागिता रहेको र उनीहरुले लाभांशले धान्नै नसक्ने गरी ब्याज तिर्नुपर्ने अवस्था बनाउन नहुने सुझाव समेत दिन्छन् । 

नेपालको पूँजीबजार विकास र बिस्तारका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई मुख्य बाधक ठान्ने उनी यी निकाय कार्ययोजना बनाउने, तर कार्यान्वयन नगर्ने दीर्घ रोगले थलिएका दाबी समेत गर्छन् । बजार सुधारका लागि साना काम पनि नगर्ने र काम पन्छ्याउने प्रवृति समेत बोर्ड र नेप्सेमा दीर्घरोगको रुपमा रहेको र यो विकृति हट्न समय लाग्ने बताउँछन् ।

कमर्सका प्राध्यापक र प्रोफेसन व्यक्तिहरुलाई समेत सेयर सचेतना नभएको दाबी गर्ने काफ्ले बोर्ड र नेप्सेले हालसम्म सचेतना नदिएको, बरु सचेतनाको नाममा तयार बजेट मात्र सक्ने काम गरेका टिप्पणी गर्छन ।

‘बोर्ड र नेप्सेले सेयर कसरी र कहाँ किन्ने र किन्ने ठाउँ समेत थाहा नपाएका सामान्य मानिसलाई सेयर सचेतना दिनुपर्ने होइन ?’ प्रश्न तेस्र्याउँदै उनले भने–‘कमसेकम प्रत्येक नगरपालिकामा एउटा ब्रोकर शाखा हुनुपर्छ ।’ 

ब्रोकर शाखा विस्तारमा धितोपत्र बोर्डले चलखेल गर्ने गरेको उनको बुझाइ छ । पूँजी बजारमा हिजो, आज र  भोलि धितोपत्र बोर्ड र नेप्सेको जुहारी चल्नु दीर्घरोगकै रुपमा रहेको उनको भनाई छ ।

सेयरलाई फुलटाइम दिन नहुने तर्क राख्ने काफ्लेले व्यापारलाई मुख्य र सेयरलाई सहायक बिजनेसका रुपमा अगाडि बढाउनुपर्ने र आफूले पनि त्यसै गरेको बताउँछन् । 

मारवाडी र व्यापारी व्यवसायी ८० प्रतिशत सेयर बजारमा सक्रिय भएको दाबी गर्ने काफ्ले ब्याजको पेलानले अहिले बजार थिलथिलो भएको जिकिर गर्छन् । 

लगानीकर्ताका नेताहरुलाई सुझाव दिंदै उनले अन्य आन्दोलन छाडेर बैंक ब्याजदरलाई वैज्ञानिक बनाउनका लागि पहल गर्न सुझाव दिए । २/३ प्रतिशत निक्षेपमा दिएर ऋणमा चाहिँ १६/१७ प्रतिशतसम्म ब्याज असुलिरहेका बैंकहरुको नेपाल राष्ट्रबैंकले समेत प्रत्येक फाइल चेक गर्नुपर्नेमा जोड दिए । 

सामाजिक सञ्जालबाटै भए पनि आफूले सकेसम्म सेयर बजारको विषयमा सचेतना फैलाउने काम गरिरहेको उनी दाबी गर्छन् । भन्छन्–‘धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले भन्दा धेरै लगानीकर्ता बनाएको छु । धेरैभन्दा धेरैको डिम्याट खोलिदिन सहयोग समेत गरेको छु । बैंकका कर्मचारीहरुलाई समेत सेयर शिक्षा दिदै आएको छु ।’

आत्मविश्वास, धैर्यता र सुझबुझपूर्ण लगानी गर्ने बानीलाई नै सेयर बजारको सक्सेस मन्त्र ठानेका काफ्लेले सेयरमा लगानी गर्दा मुख्य दिगो आयस्रोत बनाउनुपर्ने र बचतको हिस्सामात्र लगानी गर्नुपर्ने बताउँछन् । 

फूलटाइम इन्भेष्टर घाटामा जाने बारम्बार ठोकुवा गरेका काफ्लेले आफ्ना बच्चाबच्चीका नाममा २० हजारदेखि १ लाखसम्म अहिले सेयरमा लगानी गरिदिएको खण्डमा अंश दिनै नपर्ने र उनीहरुको भविष्य समेत उज्वल हुने बताउँछन् । 

अहिले दिल खोलेर सेयर खरिदारी बढाउने सुअवसर भएको भन्दै काफ्लेले स्वअध्ययनका साथ लगानी गरे प्रधानमन्त्री ओलीकै पालामा १८८१ को सर्वाधिक विन्दु चुमेको नेप्सेले यसलाई समेत ब्रेक गरी अझै माथि पुग्ने दाबी समेत गर्न भ्याए, त्यो पनि ओली सत्तामा रहेके अवस्थामा ।