काठमाण्डौ । अर्थमन्त्रीको दोश्रो बजारप्रतिको सकारात्मक अभिव्यक्ति तथा उनको निर्देशनअनुसार बजार सम्बद्ध पक्षहरुले लगानीकर्ताको मनोबल उकास्न गरेका प्रयासको प्रतिफल बजारमा चमक आउन थालेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी गर्ने उपयुक्त समय अहिले नै भएको भन्दै पुराना तथा नयाँ लगानीकर्तालाई लगानी बढाउन(गर्न) आह्वान गरेका थिए । उनले बजारसँग सम्बद्ध पक्षलाई लगानीकर्तामा बजारप्रतिको विश्वास कायम गरिराख्न आवश्यक पहल गर्न समेत निर्देशन दिएका थिए । 

उनको निर्देशनसँगै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले समेत बजार सुधारका प्रयास थालेका जस्तो देखिएको छ । यसले समेत दोश्रो बजारमा लगानी गर्नेहरुको मनोबल माथि उठाउने काम गरेको देखिएको छ । 

अर्कोतर्फ, कम्पनी रजिष्टारको कार्यालयले सम्पत्ति शुद्धिकरण सम्बन्धी नयाँ निर्देशिका तयारी पूरा नभएको भन्दै कार्यान्वयन नगरेको विषयले समेत बजारमा सकारात्मक प्रभाव पारेको देखिएको छ । 

यिनै कारणले बुधबार पनि बजारमा २२.६८ अंकको उछाल आएको छ । नेप्से परिसूचक बढेर ११७३.४२ को विन्दूमा फर्किएको दिन कारोबार रकम बढेर ४७ करोड ६८ लाख माथि पुगेको छ । बजार परिसूचक र कारोबार रकम यसरी समानान्तर ढंगले उछालको गतिमा माथि जानु बजारको सुखद भविष्यका लागि राम्रो संकेत हुने विश्लेषक बताउँछन् । यो प्रवृति अझै केही दिन जारी रहे बजारमा बुलिस प्रवृति सुरु हुने जानकार बताउँछन् । 

यो दिन राम्रा र बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.१३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.६१ अंकको बढोत्तरी भएको छ । 

सबै समूहका उपसूचकमा समेत उत्साहपूर्ण वृद्धि देखिएको छ । 

बैंकिङ समूह १८.७ अंकले बढेको यो दिन विकास बैंक समूहमा १०.२६ अंक, बित्त समूहमा २.२३ अंक, माइक्रोफाइनान्स समूहमा ३२.५१ अंक, जीवन बिमा समूहमा १७१.९ अंक, निर्जीवन बिमा समूहमा १४३.०८ अंक, जलविद्युत समूहमा ११.४९ अंक, होटल समूहमा ६९.४८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७३.८४ अंक र अन्य समूहमा १२.५९ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका १६ लाख ४५ हजार ८७७ कित्ता सेयर ४७ करोड ६८ लाख ३३ हजार ८४७ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी शिवम सिमेन्टले ६ करोड २४ लाख बढीको कारोबार गर्यो । सिद्धार्थ बैंकले ४ करोड ४८ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बंैकले २ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड १८ लाख, सनराइज बैंकले १ करोड ५७ लाख, अपर तामाकोशीले १ करोड ४० लाख, रसुवागढी हाइड्रोले १ करोड ३० लाख, कृषि विकास बैंकले १ करोड १८ लाख, प्रभू बैंकले १ करोड १४ लाख र एनसीसी बैंकले ९९ लाख ८५ हजार बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तीनवटा कम्पनीको सेयर मूल्यमा उछाल आई पोजिटिभ सर्किट लागेको छ । सिन्धु विकास बैंक, समता माइक्रोफाइनान्स र रिदी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा उछाल आई सर्किट लागेको छ । यी तीनैवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ता ९.०४ प्रतिशतले सम्पत्ति बढाए भने सूर्या लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तको सेयर मूल्यमा ९ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।

यो दिन कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । कम्पनीको सेयर मूल्य ४.५४ प्रतिशतले घट्यो ।