काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन आइतबारदेखि बढ्न थालेको बजारमा मंगबलार उछाल आएको छ । आइतबारदेखि दोहोरो अंकले बढिरहेको बजारमा यो दिन १.६९ प्रतिशतको उछाल आएको हो । यो नेप्से परिसूचक २५.१४ प्रतिशतले वृद्धि भई १५१६.०२ अंकको उचाईमा पुुगेको छ ।  

बैंक तथा बित्तीय संस्थाहरु एकाएक चम्किँदा बजार हराभरा भएको हो । जलविद्युत र उत्पादनमूलक समूहले समेत मंगलबार बजारलाई उछालको गतिमा दौडाउन महत्वपूर्ण सहयोग गरे । 

मंगलबार परिसूचकमा उछाल आएसँगै कारोबार रकम पनि बढेको छ । यसले आगामी दिनमा बजार अझ बलियो बन्ने संकेत गर्छ । आइतबारदेखि सुरु भएको बजार बढोत्तरीको यो क्रम केही दिन अझै निरन्तर रहने विश्लेषकहरुले दाबी गरिरहेका छन् । 

निकै लामो समयसम्म बजार घटेर राम्रा कम्पनीको सेयर समेत सस्तोमै किन्न पाइने भएपछि अहिले बजारमा एकाएक खरीदको चाप देखिएको छ ।

विश्लेषकहरुले प्रथम त्रैमासको खबर नकारात्मक ढंगले सम्प्रेषण भएका कारण मात्र बजार घटेको दाबी गर्दै त्यो भ्रम हटिसकेकोले अब बजारको वृद्धि यात्रा नरोकिने दाबी गरेका छन् । ‘अझै ३ वटा त्रैमासको रिपोर्ट आउन बाँकी छ ।’ एक मर्चेन्ट बैंकरले भने–‘दोश्रो त्रैमासदेखि नै अधिकांशको नाफा बढ्न थाल्नेछ ।’ 

अघिल्ला २ दिनको कारोबार र बजारको बढोत्तरीले विभिन्न हल्ला र भ्रमबाट खस्केको लगानीकर्ताको मनोवल ह्वात्तै बढेको देखिन्छ । लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा बसेका ठूला र संस्थागत लगानीकर्ताहरुले समेत अहिले छानी छानी राम्रा कम्पनीको सेयर किनिरहेका छन् । कतिपय गिरोह विगतमा नियोजित रुपमा बजार घटाउन लागेको थियो, बजार घटुञ्जेलसम्म चूपचाप रमिते बनेको त्यस्तो गिरोह समेत सस्तोमा सेयर उठाउने दौडधूपमा लाग्दा बजारमा एकाएक खरीद चाप देखिएको विश्लेषकहरु दाबी गर्छन । 

मंगलबार नेप्सेका सबै समूह हराभरा भए । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको सूचकमा उछाल देखियो । यो समूह ३.३६ प्रतिशत अर्थात ५८.८५ अंकले बढ्यो । यस्तै, उत्पादनमूलकको सूचक २.३५(५६.७३ अंक)प्रतिशतले बढ्यो भने बैकिङ र बिमा समूहमा पछि उस्तै उछाल देखियो । बैकिङ समूहको सूचक २१.६१(१.७ प्रतिशत) अंकले बढ्यो भने बिमा समूह ११२.७३ अंकले उक्लियो । 

विकास बैंक समूह २७.९५ अंक, होटल समूह १०.७५, जलविद्युत समूह ५५.३७, बित्त समूह ३.३४ र अन्य समूह ६.९४ अंकले बढे । 

‘क’ वर्गका कम्पनीहरुको सेयर खरीदारीमा चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ४.९२ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.८७ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार ७१ करोड ४६ लाख बढीको सेयर कारोबार भएकोमा मंगलबार ७५ करोड ११ लाख बढीको कारोबार भयो । यो दिन १६५ कम्पनीका १८ लाख ४७ हजार ७ सय ५५ कित्ता सेयर खरीदबिक्री भयो । 

यो दिन सबैभन्दा बढी चिलिमे हाइडोले कारोबार गर्यो । यो कम्पनीले ६ करोड बढीको कारोबार गर्यो । यस्तै, प्रभूू बैंकको ३ करोड ४७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम कमर्सियल बैंकले ३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्डले ३ करोड २५ लाख, नेपाल टेलिकमले २ करोड ७१ लाख, सगरमाथा इन्स्योरेन्सले २ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ८८ लाख, एभरेष्ट बैंकले १ करोड ८३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनी र एक स्थान अन्य समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विजय लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले पैसा छापे । यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आयो । हाम्रो विकास बैंकको सेयर मूल्य ८.५७ प्रतिशतले बढ्यो भने किसान माइक्रोफाइनान्स र महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

सिभिल लघुवित्त वित्तीय संस्थाको मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो भने लक्ष्मी लघुवित्त वित्तीय संस्था र भार्गव विकास बैंकको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो भने समीट माइक्रोफाइनान्सको मूल्य ६ प्रतिशत भन्दा बढी वृद्धि भयो । 

गत आर्थिक वर्षमा २५ करोड बढी कमाए पनि लगानीकर्तालाई एकपैसा लाभांश नदिने निर्णय गरेका कारण सगरमाथा इन्स्योरेन्सप्रति लगानीकर्ता विकर्षित भए । यो कम्पनीको सेयर बिक्रीको चाप बढ्दा मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ । प्रभूू बैंकको संस्थापक सेयरको मूल्य मंगलबार पनि ३.३७ प्रतिशतले घट्यो भने ङादी ग्रुप पावर लिमीटेडको मूल्यमा ३ प्रतिशत बढीले गिरावट देखियो ।