काठमाण्डौ । लगानीकर्ता बजेटलाई पर्खेर बस्दा सबै अवस्था सकारात्मक हुँदा हुँदै पनि सेयर बजार परिसूचक बढ्न सकेको छैन । बजेटको यही पर्खाईका कारण साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४ अंकले घटेर १६१५.५८ अंकमा झरेको छ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिए पनि बजारमा ७५ करोड ६० लाख बढीको कारोबार भएको छ । 

आइतबार होटल र अन्य समूह बाहेकका सबै समूहको परिसूचकमा रातो पोतियो । अन्य समूह २५.७४ अंक र होटल समूह १३.१५ अंकले बढे भने बाँकी अरुमा गिरावट देखियो । 

वाणिज्य बैंक(बैकिङ) समूह १७ अंकले घट्दा बिमा  र विकास बैंक समूहमा क्रमशः १३४.३ र १७.४ अंकको गिरावट देखियो । विकास बैंक १७.४ अंकले घट्यो भने जलविद्युत समूह २७.८४ अंक, उत्पादनमूलक ३६.९३ र बित्त समूह ७.३४ अंकले घटे । 'क' वर्गका कम्पनीहरुको कारोबार घट्दा सेन्सेटिभ इण्डेक्स २.७१ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.३६ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार सबैभन्दा धेरै सिद्धार्थ बैंकले ११ करोड बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ करोड २० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३२ लाख, सानिमा माई हाइडोले २ करोड २१ लाख, हिमालयन जनरल इन्स्योरेन्सले १ करोड ८५ लाख बढीको कारोबार गरेका छन् । आइतबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र बाँकी एक स्थान जलविद्युत कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
आइतबार सबैभन्दा बढी आरएसडिसी लघुवित्त कम्पनीका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ८.११ प्रतिशतले वृद्धि भयो । नेपाल टेलिकमको सम्पत्ति पनि ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

अघिल्लो हप्ता निकै चम्किएको बोटलर्स नेपाल(तराई) लिमीटेडको मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतले घट्यो ।