काठमाण्डौ । चारवटा विकास बैंकलाई गाभेर तीव्र सुधारको गतिमा कुद्ला भन्ने अपेक्षा विपरीत नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक नयाँ समस्याको जालोले जेलिएको छ । बजारमा हल्ला फैलिएको छ–एनसीसी बैंक बर्बादीको संघारमा छ । के साच्चिकै एनसीसी बैंक बर्बाद हुन लागेको हो ? एनसीसी बैंक समाधान नै हुन नसक्ने समस्याबाट जकडिएको हो ? 

शुक्रबार सीआइबीले एनसीसी बैंकका संचालक तथा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णुु धितालसहित १३ जनालाई पक्राउ गरेपछि एनसीसीको भविष्यका बिषयमा अनेकन अड्कलबाजी हुन थालेका छन् । 

सरसर्ती हेर्दा, एनसीसी बैंक पुरानो बैंकको घोटाला प्रकरणका कारण नयाँ समस्यामा फसे पनि सम्पूर्ण रुपमा ध्वस्तै हुन लागेको अवस्था भने होइन । एनसीसी बैंकमा गाभिएको एपेक्स डेभलपमेन्ट बैंकभित्रको चरम अनुशासनहीनता, लापरबाही, अनियमितता लगायतका कारणले मात्र एनसीसीलाई अप्ठ्यारो परेको देखिएको छ । एपेक्सले मर्जरको सम्झौता गरेपछि मौकामा चौका हान्दै त्यहाँका संचालक र व्यवस्थापनको नेतृत्व तहमा बसेकाहरुको मिलेमतोमा जथाभावी कर्जा प्रवाह गरेका र त्यही कर्जा खराबमा सूचिकृत हुँदा र उठ्ने अवस्था नहुँदा एनसीसीलाई समस्या भएको देखिएको छ ।

एनसीसीले निकै धेरै प्रयास गर्दा समेत डेढ अर्ब बढी रकम उठाउन नसकेपछि त्यसको राष्ट्रबैंकले छानबिन गरेको थियो । राष्ट्रबैंकको छानबिनमा तत्कालीन एपेक्स बैंकका अध्यक्ष धिताल लगायतको मिलेमतोमा ठूलो रकम घोटाला भएको देखिएपछि आवश्यक कारबाहीका लागि सीआइबीलाई भनिएको छ । केन्द्रीय बैंकको यही अनुरोधपछि सीआइबीले आफ्नो काम अगाडि बढाएको छ । 

यतिसम्म भएछ एपेक्सभित्र
एपेक्स डेभलपमेन्ट बैंक लामो समयदेखि बित्तीय अनुशासन कायम नभएको बैंकको रुपमा रहेको थियो । यो बैंकका संचालक तथा व्यवस्थापनको नेतृत्व सम्हालेकाहरुले ठूला–ठूला अनियमितताका काण्ड मच्चाएका यसअघि थुप्रै पटक सार्वजनिक भइसकेको छ । खोला बगरलाई समेत धितो राखेर ठूलो आकारको ऋण प्रवाह गरेकै कारण एपेक्स धराशायी बनेको थियो । विघटनको संघारमा पुुगेको एपेक्सलाई बचाउने उद्देश्यले एनसीसीसँग मर्जरको सम्झौता गरियो । तर, संचालकहरुले अन्तिम अवस्थामा समेत आफ्नो धन्दा छाडेनन् । मर्जरको सम्झौता भएलगत्तै पनि जथाभावी ऋण प्रवाह गरियो । मर्जरपछि ५० लाखको सीमाभित्र रहेर कर्जा प्रवाह गर्ने नियम त मानियो, तर त्यही ५० लाख दरको ऋण दिंदा समेत मूल्यहीन धितोलाई उच्च मूल्यांकन गरी अनियमितता गरियो । मर्जरको सम्झौतापछि मात्रै एपेक्सले १ अर्ब ६० करोड कर्जा जथाभावी प्रवाह गरेको देखिएको छ । एनसीसी बैंकमा समस्याको मूल जड त्यही १ अर्ब ६० करोड हो । त्यसबेला भिरालो तथा बाटो नपुुगेको जमीन, खोला बगर लगायतलाई धितो राखेर जथाभावी ऋण प्रवाह गर्दा बैंकका संचालकदेखि उच्च व्यवस्थापन तहका कर्मचारी र शाखा प्रबन्धकहरुको समेत राम्रै मिलेमतो देखिएको थियो । यहीकारण सीआइबीले धितालसहित व्यवस्थापन तहका उच्च कर्मचारी हुँदै शाखा प्रबन्धकहरुसम्मलाई पक्राउ गरेको छ । केही फरार भएका छन् । 

एनसीसीलाई समस्याग्रस्त पार्ने १ अर्ब ६० करोड कर्जाको एपेक्सका संचालकले न फलोअप गरे न त कर्जापछिको अन्य प्रक्रिया नै जारी राखे । जसका कारण मर्जरपछि बेला घर्किइसकेको थियो र त्यही १ अर्ब ६० करोडले एनसीसीलाई समस्याग्रस्त बनाएको स्रोतको भनाई छ । 

के भइरहेको छ एनसीसीमा ? 
एपेक्सले १ अर्ब ६० करोड ऋण जथाभावी रुपमा प्रवाह गरेको बिषयलाई नेपाल राष्ट्रबैंकले लामो समयदेखि छानबिन गरिरहेको थियो । केन्द्रीय बैंकबाट राजनदेव भट्टराईको नेतृत्वमा ५ सदस्यीय टोलीले छानिबन गरेको हो । यो टोलीले एपेक्सको मात्र नभई एनसीसीमा गाभिएका अन्य विकास बैंकको शाखा शाखासम्म पुुगेर छानबिन गरेको थियो । छानबिनको प्रारम्भिक अवस्थामा एपेक्सले मर्जरको सम्झौतापछि खोलाको बगरलाई समेत धितोको रुपमा देखाएर जथाभावी ऋण दिएको फेला परेको छानबिन समितिका एक सदस्यले बिजशालालाई बताए । ‘ऋण दिने नाममा ब्रम्हलुट मच्चाइएको रहेछ ।’ ती सदस्यले भने–‘मर्जरको क्रममा सबै कुरा छोपिन्छ भनेर यस्तो गरे होलान्, तर अब हामी यो हदसम्मको अनियमिततामा आँखा चिम्लिएर बस्दैनौ ।’ 

उच्च अदालत पाटनमा एनबी ग्रुप(जसको एनसीसीमा साढे १३ प्रतिशत सेयर छ)ले एपेक्सलाई डिमर्ज गर्न माग गर्दै उजुरी गरेपछि सो बिषयमा अदालतले तत्कालका लागि एपेक्सको सबै हिसाबकिताब छुट्टै राख्नुु र छानबिन गर्नु भन्नेसम्मको आदेश दिएको थियो । सोही आदेशपछि राष्ट्रबैंक पनि छानबिनका लागि तात्तिएको थियो । 

आफ्नै नेतृत्वमा भएको मर्जरमा गडबडी देखिएपछि राष्ट्रबैंकको नेतृत्व समेत नैतिक संकटमा परेको थियो । एनसीसीको मर्जरमा केन्द्रीय बैंकबाट लक्ष्मीप्रपन्न निरौलाको टिमले नेतृत्व गरेको थियो । 

बैंक डूब्छ ?
एपेक्स घोटाला प्रकरणका अधिकांश दोषी पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये केही हाइप्रोफाइल पनि छन् । उनीहरुको नेतृत्वमा गरिएको घोटालाको धेरथोर असूली त अब हुन्छ नै । यहीकारण बैंक उठ्नै नसक्ने गरी यही प्रकरणले धराशायी हुन्छ भन्नुु गल्ती हुन्छ । एनसीसी बैंकले दोश्रो त्रैमासमा एपेक्स घोटाला प्रकरणको ठूलो रकम उठ्न बाँकी हुुँदा समेत आफूमा केही सुधार गरी आशाको सञ्चार प्रवाह गरिसकेको छ । आगामी दिनमा एनसीसीमा एपेक्सको नाममा प्रवाह भएको खराब कर्जा सेटल गराउनखोज्ने संचालक र कर्मचारी रहने छैनन् । 

तर, एपेक्स प्रकरणले एनसीसी बैंकको क्रेडिबिलिटीमा भने गम्भीर धक्का लगाइदिएको छ । एपेक्सका कारण यस्तो भए पनि एनसीसीले त्यसको सबै दायीत्व स्वीकार गरी गाभेर अगाडि बढिसकेको अवस्थामा एनसीसी बैंककै नाम प्रचार हुनेछ, जसले लगानीकर्ताको निक्षेप एनसीसी बैंकमा सुरक्षित छैन भन्ने नकारात्मक सन्देश भाइरल बन्ने प्रचूर संभावना छ । यो प्रचारलाई बैंकले बेलैमा खण्डन गर्न सकेन भने यसले दीर्घकालसम्मै पनि नकारात्मक प्रभाव पुर्याउनसक्छ । तर, अन्य बैंक तथा बित्तीय संस्था समेत गाभिएर बनेको अहिलेको एनसिसीले एपेक्स प्रकरणबाट पाठ सिक्दै आगामी दिनमा संस्थागत सुशासन र उत्कृष्ट व्यवस्थापनतर्फ ध्यान दिएमा बैंकलाई यो प्रकरणबाट भएको घाटा पूर्ति गर्न धेरै समय भने लाग्ने छैन । 

यो प्रकरणसँगै बैंक तथा बित्तीय संस्थाहरुमा जनताको पैसा चलाएर सबै पैसा आफ्नैजस्तो गरी दुरुपयोग गर्ने र गर्न चाहने संचालक तथा व्यवस्थापन तहका केही उच्च अधिकारीहरुले ढिलोचाँडो उन्मुक्ति नपाइने रहेछ भन्ने पाठ समेत सिकेका छन् ।