काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक स्थिर बनेको छ । नेप्से स्थिर भए पनि कारोबार रकममा भने निकै ठूलो गिरावट आएको छ । यो भविष्यका लागि राम्रो संकेत होइन । तर, बजारको एकदिनकै प्रवृतिलाई आधार मानेर भविष्यमा बजारले सुखद प्रदर्शन गर्दैन भनियो भने त्यो गलत हुनेछ ।

यो दिन नेप्से परिसूचक ०.२ अंकले घट्यो । सेन्सेटिभ इण्डेक्स ०.५ अंकले घटेको यो दिन फ्लट इण्डेक्स स्थिर रह्यो ।

बजारका तीनवटा समूहको सूचक बढयो भने बाँकी समूहको सूचकमा गिरावट आयो ।

अपर तामाकोशीका कारण जलविद्युत समूहको सूचकमा सबैभन्दा बढी ४०.८१ अंकको बढोत्तरी भयो । 

माइक्रोफाइनान्स समूह ९.२६ अंकले बढेको यो दिन अन्य समूहमा २.४८ अंकको वृद्धि देखियो । 

यो दिन बैंकिङ  समूह २.८१ अंक र व्यापार समूह ३.१३ अंकले घट्यो । होटल समूहमा २.७२ अंक, विकास बैंक समूहमा ०.७२ अंक, बित्त समूहमा ०.१२, निर्जीवन बिमा समूहमा ६२.३६, उत्पादनमूलकमा ४.२४ र जीवन बिमा समूहमा ४५.२७ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका ८ लाख ३५ हजार ८ सय २६ कित्ता सेयर २८ करोड ७७ लाख ५० हजार ३ सय २१ रुपैयाँमा किनबेच भएको छ। 

सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले २ करोड ५४ लाख बढीको कारोबार गर्यो । 

नागरिक लगानीकोषले २ करोड २१ लाख बढीको कारोबार गरेको यो दिन छिमेक लघुवित्तले २ करोड ७ लाख, अपर तामाकोशीले १ करोड ७८ लाख, माछापुच्छे बैंकले १ करोड ७२ लाख, प्रभू बैंकले १ करोड ११ लाख, एनआइसी एशियाले १ करोड १० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६५ लाख, एनसीसी बैंकले ६० लाख र नेपाल इन्स्योेरेन्सले ५३ लाखको हाराहारीमा कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि अपर तामाकोशीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन जोशी हाइड्रोपावरको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो । कम्पनीको सेयर मुल्य १० प्रतिशतको हाराहारीमा घट्यो । 

एउटा हाइड्रोको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्दा अर्कोको मूल्यमा नेगेटिभ सर्किट लाग्ने अनौठो संयोग समेत आज नै जुरेको छ ।