काठमाण्डौ । सेयर बजारमा मंगलबार उछाल आएको छ । 

सेयर बजार परिसूचक(इण्डेक्स) २०.३३ अंकको उछाल आएको हो । 

इण्डेक्ससँगै टर्नओभर(कारोबार) पनि निकै दिनपछि आधा अर्बको उचाईमा पुगेको छ । 

विगत केही दिनदेखि सेयर बजार परिसूचक र कारोबार रकममा निरन्तर बढोत्तरी भइरहेको छ । इण्डेक्स र टर्नओभर यसरी समानान्तर रुपमा बढ्दै जानुले बुल चक्र सुरु भएको संकेत गर्ने विश्लेषकहरु बताउँछन् । 

केही दिनदेखि बढिरहेको बजार बैंकको ब्याजदर केही भए पनि घट्नसक्ने अपेक्षाले थप बलियो भएको देखिन्छ ।

कतिप विश्लेषकहरुले भने सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरी सुनियोजित रुपमै बजार बढाउन थालिएको दाबी समेत यही बेला पेश गरिरहेका छन् ।  

अर्कोतर्फ, लामो समयसम्म चलेको बियरिस प्रवृति अन्त भई बुल मार्केट सुरु हुने कतिपय विश्लेषकको विश्लेषणले समेत लगानीकर्ता उत्साहित भएको देखिएको छ । 

बजारमा पछिल्लो समय संस्थागत लगानीकर्ताको समेत प्रवेश भएको छ । उनीहरुले समेत बजार बढ्ने आशामा खरिदारी बढाउँदा सेयरको उच्च खरीद चाप देखिएको छ । 

लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा बसेका लगानीकर्ताहरु समेत घटेर न्यून विन्दूमा पुगेको सेयर बजारमा प्रवेश गरी धमाधम सेयर उठाउन थालेका छन् । निकै आकर्षक मूल्यमा ब्लुचिप सेयरहरु पाइने अवसरलाई पक्रन लगानीकर्ताहरु सक्रिय बन्दा समेत बजारमा दैनिकजसो उछाल आउने अवस्था देखिएको कतिपयको धारणा छ ।  

जसले जे जे भने पनि राम्रा कम्पनीको सेयर सस्तोमा पाएको अवसरको सदुपयोग गर्दै यो बेला दोश्रो बजारबाट सेयर उठाउने बेला नै हो । यस्तो बेलामा सस्तोमा किनिएको सेयरलाई लामो समयसम्म होल्ड गरेर राख्न सकिए भविष्यमा लगानीकर्ता मालामाल हुने संभावन हुन्छ । 

उछालका बीच मंगलबार नेप्से परिसूचक बढेर ११६३.२६ को विन्दूमा पुगेको छ । केही दिनमै नेप्से परिसूचक ६३ अंकले बढिसकेको छ । बजारमा सुरु भएको यो बढोत्तरी तत्काल रोकिने अवस्था नरहेको र बजार अझै बढी १२ सय माथि पुगेर मात्र करेक्सन हुने कतिपय विश्लेषकहरुले दाबी गरिरहेका छन् । 

मंगलबार राम्रा कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा ४.२१ अंकको बढोत्तरी भएको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.४९ अंकको बढोत्तरी भएको छ । 

वाणिज्य बैंकहरुको सेयर खरीदमा विशेष चाप देखिएको छ । नेपालको पूँजीबजारमा बढी हिस्सा ओगटेका वाणिज्य बैंकमा खरीद चाप देखिँदा यसले बजारलाई विशेष रुपमा उछालको गतिमा दौडाएको छ । अन्य सूचकतर्फको बढोत्तरी पनि सन्तोषजनक नै छ । 

यो दिन बैंकिङ समूह २२.२८ अंकले बढेको छ भने विकास बैंक समूहमा १८.७६ अंकको बढोत्तरी भएको छ । जीवन बिमा समूह ७७.१७ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा २९.९२ अंक, माइक्रोफाइनान्स समूहमा ९.९३ अंक, बित्त समूहमा ५.२१ अंक, होटल समूहमा २२.९४ अंक, व्यापार समूहमा ५.३२ अंक, जलविद्युत समूहमा ३२.१२ अंक, उत्पादनमूलकमा ३२.२९ अंक र अन्य समूहमा ७.६८ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका १८ लाख ५८ हजार ४८१ कित्ता सेयर ५० करोड ८ लाख ११ हजार ३१५ रुपैयाँमा किनबेच भएको छ । 
सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ३ करोड ४ लाख बढीको कारोबार गर्यो । 

माछापुच्छ्रे बैंकले २ करोड ९५ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले २ करोड ७६ लाख, अपर तामाकोशीले २ करोड २७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ९७ लाख, एनआइसी एशियाले १ करोड ९० लाख, नेपाल बैंकले १ करोड ५८ लाख, जनता बैंक नेपालले १ करोड ३६ लाख, एनएमबी बैंकले १ करोड २६ लाख र सिभिल बैंकले १ करोड १२ बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा २ वटा कम्पनीमा पोजिटिभ सर्किट ब्रेक लाग्यो । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

हिमालयन पावर पार्टनर लिमीटेडको सेयर मूल्यमा ९.५५ प्रतिशतको बढोत्तरी भयो भने नेशनल हाइडोपावर कम्पनी लिमीटेडको मूल्य ८.७० प्रतिशतले बढ्यो ।

यो दिन सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले धेरै गुमाए । यो स्किमको इकाई मूल्य २ प्रतिशतको हाराहारीमा घट्यो ।