काठमाण्डौ । हरियो कार्पेट बिछ्याएर नयाँ वर्षले स्वागत गरेको बजार मंगलबार चम्किएको छ । बैंकिङ र माइक्रोफाइनान्स समूहका कारण बजारको चमक फर्किएको हो । यो दिन नेप्से परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ को विन्दूमा फर्किएको छ । 

प्राविधिक विश्लेषक र फण्डामेन्टल विश्लेषकहरुले दाबी गरेजस्तै बजारले निकै समयपछि १२०० माथिको यात्रा तय गरेको छ । 

बैंक तथा वित्तीय संस्थाको तेश्रो त्रैमासमा उत्साहप्रद वित्तीय विवरण आउने र त्यसका आधारमा उनीहरुको लाभांश क्षमता समेत आँकलन गर्न सकिने भएपछि लगानीकर्ताको मनोबल बलियो बन्दै गएको देखिएको छ । 

सेयर कारोबार प्यान नम्बरलाई ५ लाख भन्दा बढीको कारोबारमा अनिवार्य गरिएको र साना लगानीकर्तालाई यो व्यवस्था ऐच्छिक गरिएका कारण समेत बजारमा सकारात्मक प्रभाव देखिएको छ । किनभने हिजोदेखि मात्र प्यानको यो व्यवस्था लागू भएको हो । कुनै बेला कतिपय लगानीकर्ताहरुले प्यानको मुद्धालाई बजारको हाउगुजी बनाउने गरेका थिए, तर प्यानको केही परिस्कृत व्यवस्था लागू भएको भोलिपल्ट बजार एकाएक चम्किनुलाई गज्जबै संयोग मान्नुपर्छ । 

आर्थिक वर्षको अन्तिम त्रैमासका कारण सरकारको विकास खर्च बढ्ने र त्यसले बैंक तथा वित्तीय संस्थामा तरलता सहज भई ब्याजदर घट्ने आशामा समेत लगानीकर्ताको मनोबल केही मजबुत भएको देखिन्छ । 

यो दिन राम्रा कम्पनीको खरीद चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स ५.४८ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.९२ अंकको बढोत्तरी भएको हो ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत एकाएक उछाल आएको छ । यसले बजारमा बुलिस प्रवृति सुरु भएको संकेत गर्ने कतिपयको विश्लेषण गरेका छन् । साच्चिकै बुल प्रवृतिको सुरुवातको सुनिश्चितता भने परिसूचक र कारोबार रकम समानान्तर ढंगले केही दिनसम्म बढिरहे मात्र हुने विश्लेषक बताउँछन् ।

यो दिन बैंकिङ समूह २९.४१ अंक(२.७८ प्रतिशत)ले बढेको छ । यस्तै, माइक्रोफाइनान्स समूह ३५.८, जीवन बिमा समूह ८०.१९ अंक, निर्जीवन बिमा समूह ४८.९२ अंक, विकास बैंक समूह २०.०२ अंक, होटल समूह १४ अंकले बढेका छन् । 

यसैगरी, जलविद्यूत समूह ५.८९ अंकले बढेको यो दिन बित्त समूह १०.७४ अंक, उत्पादनमूलक २.४६ अंक र अन्य समूह २.९३ अंकले बढेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका २४ लाख ११ हजार ६५० कित्ता सेयर ७४ करोड २७ लाख १८ हजार ७५१ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनएमबी बैंकले ६ करोड ७० लाख बढीको कारोबार गर्यो । एनआइसी एशिया बैंकले ४ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले ४ करोड ५८ लाख, सिभिल बैंकले ३ करोड ३२ लाख, नेपाल बैंकले ३ करोड २४ लाख, कुमारी बैंकले २ करोड ७५ लाख, एनसीसी बैंकले २ करोड ३० लाख, साना विकास लघुवित्तले २ करोड २४ लाख, छिमेक लघुवित्त विकास बैंकले १ करोड ४८ लाख र प्राइम कमर्सियल बैंकले १ करोड ४६ बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा उछाल आएको यो दिन श्री इन्भेष्टमेन्ट फाइनान्स र सेन्टल फाइनान्सका लगानीकर्ताले धेरै कमाए । श्री इन्भेष्टमेन्टको सेयर मूल्य ६.६७ र सेन्ट्रलको मूल्य ६.५४ प्रतिशतले बढ्यो । 

सबैभन्दा धेरै युनिभर्सल पावरका लगानीकर्ताले गुमाए  । यो कम्पनीको सेयरमूल्य घटेर ९० रुपैयाँ प्रतिकित्तामा सीमित हुन पुग्यो ।