काठमाण्डौ । सेयर बजारमा तरलता अभावको समस्याले विकराल रुप लिन थालेको छ । सेयर किन्ने पैसा साथमा नहुँदाको छटपटी केही दिनदेखि विभिन्न ब्रोकर अफिसहरुको भ्रमणको क्रममा प्रष्टै देखिन्थ्यो । ठूला लगानीकर्तादेखि ब्रोकर स्वयम् समेत पैसाका लागि तारन्तार आफ्ना सम्पर्कका व्यक्तिहरुसँग फोन गरिरहेका भेटिन्छन् । 

‘ब्रोकर हाउसमा पछिल्लो समय प्राय सबै मानिसहरु पैसा छैन भन्दै निकटस्थहरुलाई फोन हानिरहेका भेटिन्छन् ।’ बजार घुमेर फर्किएका बिजशाला संवददाता भन्छन्–‘लगानी गर्न चाहनेसँग पैसा छैन । सेयर बजारका लागि तरलता टाइटको समस्या विकराल बन्दै गएको छ ।’ 

पछिल्लो समय राम्रै तरलता खेलाउने केही ठूला ब्रोकरहरुले समेत ठूलै परिमाणमा सेयर उठाएका छन् । यसले उनीहरुसँग भएको पैसा समेत सेयरमा गएर थन्किएको छ । बजारबाट थप सेयर उठाउने पैसा उनीहरुसँग छैन । 

अर्कोतर्फ, बैंकिङ प्रणालीमा समेत तरलता टाइटको समस्या छ । ‘लगानी गर्ने पैसा छैन, निक्षेप उत्साहजनक ढंगले आउन सकेको छैन ।’ एक वाणिज्य बैंकका डेपुटी सीइओ भन्छन्–‘झिंगा मारेर बस्नुपर्ने अवस्था छ । तरलता सहज नुहँदा हामीले सेयरका लगानीकर्ता मात्र होइन, अरुलाई लोन दिन सकेका छैनौ ।’

कतिपय बैंकका उच्च व्यवस्थापन तहका अधिकारी पैसा नभएर कामैबिना बस्नुभन्दा त बरु बिग मर्जरको नीति चाँडै आएर मजबुत संस्था बनी चलायमान बन्नसक्ने अवस्था आए पनि हुने भन्ने कामना समेत गरिरहेका भेटिए । 

मुख्य रुपमा तरलताको यही असहज अवस्थाका कारण बजारमा निरन्तर मन्दी आइरहेको छ । यो मुख्य समस्यामा खेलाडीको सुनियोजित खेल, अधिक आपूर्तिको सेयर उठाउने हिम्मत गर्नेहरुको अभाव, कर अन्यौलको भ्रम, मौद्रिक नीतिको प्रतिक्षा लगायतका कारणले समेत घिउ थपिदिएको छ । 

यिनै समस्याका कारण बजारमा लगानीकर्ताहरुको उपस्थिति पातलिन थालेको छ । ब्रोकर अफिसहरु खालि खालि हुन थालेका छन् । यहीकारण बजार पनि निरन्तर घटिरहेको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार बजार  २.९२ अंकले घटेर १२६९.५५ को विन्दूमा सीमित हुन पुगेको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेर ४५ करोड ६५ लाखमा सीमित हुन पुगेको छ । 

निरन्तर सामानान्तर ढंगले घटिरहेको नेप्से परिसूचक र कारोबार रकमले राम्रो संकेत नगरेको विज्ञहरु बताइरहेका छन् । 

बिहीबार होटल समूहमा ४.१९ अंकको झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहमा मन्दीको कालोबादल मडारिएको छ । बैंकिङ समूह २.०९ अंकले घटेको यो दिन विकास बैंक समूहमा ३.०७, माइक्रोफाइनान्समा  २.८५, जीवन बिमा समूहमा १४.७२, निर्जीवन बिमा समूहमा २३.१८, बित्त समूहमा ५.१२, जलविद्युत समूहमा ५.९३, उत्पादन तथा प्रशोधन समूहमा १८.२७ र अन्य समूहमा ०.३१ अंकको गिरावट आएको छ । 

राम्रा र बलिया कम्पनीमा बिक्री चाप बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा  ०.२ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७० कम्पनीका १४ लाख २३ हजार ६८७ कित्ता सेयर ४५ करोड ६५ लाख ६ हजार ९४५ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्सले ३ करोड २ लाख बढीको कारोबार गरेको छ । 

शिवम सिमेन्टले २ करोड ६२ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले २ करोड ३३ लाख, एनआइसी एशियाले १ करोड ८० लाख बढीको कारोबार गरेको छ । ग्लोबल आइएमई बैंकको १ करोड ७४ लाख बढीको सेयर कारोबार भएको यो दिन नेपाल बैंकले १ करोड ६२ लाख, अपर तामाकोशीले १ करोड ३५ लाख, कृषि विकास बैंकले १ करोड २४ लाख, कामना सेवा विकास बैंकले १ करोड १० लाख र एनसीसी बैंकले पनि १ करोड १० लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अरुणखोला जलविद्युत कम्पनी लिमीटेड र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य ५ प्रतिशतको दरले बढेको छ । 

प्रूडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले यो दिन धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घटेको छ ।