काठमाण्डौ । बजारको बुलिस ट्रेण्ड सोमबार पनि जारी रह्यो । यो दिन पनि नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ । 

नेप्से परिसूचकमा भएको तीव्र बढोत्तरीसँगै कारोबार रकम पौने २ अर्बको हाराहारीमा पुगेको छ । यसअघि चलेको बुल रनको बेलामा हुने गरेको कारोबारको आकारलाई सम्झाउने गरी सोमबारको कारोबार १ अर्ब ७० करोड माथि पुगेको हो । 

एकातिर नेप्से परिसूचकमा दैनिकजसो भइरहेको दोहोरो अंकको वृद्धि र समानान्तर हिसाबले बढिरहेको कारोबार रकमको आकारले बजारमा हङ्ग्री इन्भेष्टरहरुको चहलपहल बढिरहेको देखाउँछ । यसको अर्थ बजारमा उच्च खरीद चाप छ भन्ने हो । 

लामो समयसम्म पर्ख र हेरको रणनीतिमा बसेका ठूला र संस्थागत लगानीकर्ताहरु समेत बुल रन सुरु भइसकेको निश्कर्षसहित बजारमा आक्रामक ढंगले सेयर खरीद गरिरहेका छन् । अर्को ढंगले भन्नुपर्दा अहिले बजारमा सर्टटर्म कारोबारीको कारोबार हङ्ग्री इन्भेष्टर(खरीदका लागि आशक्त लगानीकर्ता)को जबरजस्त खरीद चापको छायाँमा परेको छ । 

यसअघिका दिनमा बजार बढे पनि सर्टटर्म कारोबारीहरुको प्रफिट बुकको हतारोले एकदुई दिनमै बजारमा करेक्सन आउथ्यो । यसपटकको बजार बढोत्तरी क्रम सुरु भएदेखि यस्तो प्रवृति एकदुई दिनकै अन्तरालमा देखिएको छैन । यसले समेत बजारमा लामो अवधिको बुल रन सुरु भएको र नयाँ तथा पुराना लगानीकर्ताले दिल खोलेरै सेयर उठाइरहेका देखिन्छ । 

अहिले बैंकिङ प्रणालीमा तरलता थुप्रिइरहेको छ । अधिक तरलता भए पनि लगानीयोग्य रकमको खासै माग छैन । जसले निकट भविष्यमै बैंक ब्याजदरलाई अझै संकुचित पारिदिने स्पष्ट संकेत गरिसकेको छ । जहाँ बैंक ब्याजदर घट्ने क्रममा हुन्छ त्यहाँ सेयर बजार बढ्ने गर्छ । जब ब्याजदर बढ्न थाल्छ, सेयर बजार घट्न थाल्छ । अहिले ब्याजदर घट्ने क्रममा रहेकोले पनि सेयर बजारमा यसको सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । 

एकातिर ब्याजदर अझै घट्ने लगानीकर्तामा बलियो आशा देखिएको छ भने अर्कोतर्फ सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको वित्तीय विवरण समेत बलियो आउने धेरै लगानीकर्ताको ठम्याई छ । माघ लागेपछि धमाधम त्यस्ता वित्तीय विवरण आउने र चालु आर्थिक वर्षको आधा समयको विवरण आउने भएकोले समेत यो वर्ष सम्बन्धित कम्पनीहरुले दिनसक्ने रिटर्नको अनुमान लगाउन सहज हुन्छ । यसले समेत अहिले सेयर खरीद गर्न चाहनेहरुलाई प्रोत्साहित गरिरहेको जानकार बताउँछन् । 

ब्रोकरहरुका अनुसार धितोपत्र बोर्डमा नवनियुक्त अध्यक्षको आगमन, उनको बजार सुधारका सकारात्मक योजनाहरुको सार्वजनिकीकरण, अर्थमन्त्रीको बहिर्गमन लगायतका खबरहरुले समेत बजारलाई सकारात्मक बनाइरहेको छ । 

प्राविधिक विश्लेषकहरु भने यतिबेला बजारमा ४ वर्षे लामो बुल रन सुरु भएको र अब ठूलो नकारात्मक घटना घटेन भने बजार यसैगरी बुलिस ट्रेण्डमा कुद्ने दाबी गर्छन् । 

फण्डामेन्टल र टेक्निकल आधारमा बजारको विश्लेषण गर्नेहरुले समेत बुल रन सुरु भइसकेको दाबी गरेको नेप्सेले सोमबार अघिल्लो दिनको भन्दा उत्साहपूर्ण प्रदर्शन गर्यो । 

यो दिन नेप्से परिसूचक १५.१४ अंकले बढी १२७०.८६ को विन्दूमा पुग्यो । 

राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ३.५५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स भने ३.४४ अंकले घट्यो । 

यो दिन उत्पादन तथा प्रशोधन समूह र माइक्रोफाइनान्स बाहेकका सबै समूहको उपसूचक हराभरा भए । 

प्रशोधन समूह २.०६ अंकले घटेको यो दिन माइक्रोफाइनान्समा प्रफिट बुकको लहरले १३.८९ अंकको गिरावट देखियो । 

यो दिन बैंकिङ समूह १४.८१ अंकले बढ्यो भने विकास बैंक समूह १२.५३ अंक वित्त समूह १०.८८, जीवन बिमा समूह ५२.०७ र निर्जीवन बिमा समूह ३९.०१ अंकले बढे ।

यो दिन होटल समूहमा १२.५९ अंकको बढोत्तरी भयो भने व्यापार समूह २५.१२ अंक, जलविद्युत समूह ४८.७ अंक, अन्य समूह ६.९९ र म्युचुुअल फण्ड ०.०४ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता सेयर १ अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल टेलिकमले ६ करोड ४ लाख बढीको कारोबार गर्यो । 

त्यसपछि नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ९७ लाख, एनआइसी एशियाले ५ करोड ५७ लाख, प्रभू बैंकले ४ करोड ४१ लाख, एनएमबी बैंकले ४ करोड २३ लाख, प्राइम कमर्सियल बैंकले ४ करोड १५ लाख, डिप्रोक्स लघुवित्तले ३ करोड ९८ लाख, नेपाल बैंक लिमीटेडले ३ करोड ९२ लाख, एनसीसी बैंकले ३ करोड ५९ लाख र फ्रस्ट माइक्रोफाइनान्सले ३ करोड ४६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दुई कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । घोडीघोडा लघुवित्त र सानिमा माई हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । चिलिमे हाइड्रो र रादी विद्युत कम्पनीको सेयरमूल्य करिब ९ प्रतिशतले बढ्यो । 

यो दिन सिभिल लघुवित्त र गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य करिब ६ प्रतिशतको हाराहारीमा घट्यो ।