काठमाण्डौ । बुलिस ट्रेन्डमा लम्किरहेको बजार गत सातादेखि नेप्से सूचकांकमा देखिएको करेक्सनको क्रम हिजोबाट रोकिएर पुनः युटर्न लिएको छ ।

तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचकांक बढोत्तरी आएको छ। हिजो बजार करेक्सन रोकिँदै नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको थियो ।

केही दिनको बजार करेक्सनपछि पुनः नेप्सेमा बढोत्तरी आउन थालेपछि बजार बढ्ने शुभ संकेतका रुपमा विश्लेषकहरुले आँकलन गरेका छन् । बजारमा आएको करेक्सनलाई लगानीकर्ताहरुको मनोबलले जितेर सूचकांक बढ्ने आधार कारोबार रकममा आएको बढोत्तरीले समेत आशा जगाइदिएको छ ।

अल्पकालीन नाफा सुरक्षित गर्ने लहडमा लगानीकर्ताहरुले बजारबाट सेयरको आपूर्तिभन्दा माग बढाउँदै जानु र अर्थमन्त्री युवराज खतिवडाको समेत बजारप्रति सकारात्मक अभिव्यक्ति आइरहनुले बजारलाई बढ्न थप टेवा पुगेको देखिन्छ ।

आज नेप्से इन्डेक्स ५.५२ अंकले बढ्दै १३०५.१५ को विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.४८ अंकले घट्दै २७८.६७ को विन्दुमा सीमित बनेको छ । 

यो दिन नेप्सेमा रहेका १२ उपसमूहमध्ये ८ वटामा हरियाली छायो भने ४ वटामा रातो पोतियो । निर्जीवन बिमा समूहमा १४१.३३ अंकको बढोत्तरी देखिएको यो दिन जीवन बिमा समूहमा १५९.२८ अंकले बढ्यो । 

त्यस्तै विकास बैंक समूह ०.१ अंक, वित्त समूह ०.५७ अंक, उत्पादन तथा प्रशोधन समूह ४.४३ अंक, अन्य समूह ४.०४ अंक, लघुवित्त समूह ४२.५८ र म्युचुअल फन्ड समूह ०.१ अंकले बढ्यो । 

आजको दिन बैंकिङ समूह १.१२ अंक, व्यापार समूह २३.५६, होटेल्स् समूह ३९.४२ र जलविद्युुत् समूह ८.२१ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनीहरु 

आजको दिन नेप्सेमा सूचीकृत १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता सेयर १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८०५ रुपैयाँमा कारोबार भयो । यो दिन उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ६ वटा बिमा समूहका रहेका छन् । 

ग्लोबल आईएमई बैंकको ९ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भयो । त्यस्तै नेको इन्स्योरेन्सको ४ करोड ६१ लाख, नेपाल बैंकको ४ करोड ५६लाख, नागरिक लगानी कोषको ४ करोड ४७ लाख, गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड २५ लाख, एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ७ लाख, प्राइम लाइफ इन्स्यारेन्सको ४ करोड ५ लाख, प्रभु बैंकको ३ करोड ९४ लाख र सूर्या लाइफ इन्स्योरेन्सको ३ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भयो ।  

धेरै कमाउने र गुमाउनेहरु

आजको दिन शिखर इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा ८ प्रतिशतको बढोत्तरी आयो । 

यो दिन गुहेश्वरी मर्चेन्ट बैंक र रसुवागढी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । दुवै कम्पनीको सेयरमूल्यमा ४ प्रतिशतभन्दा बढीले गिरावट आयो ।