-भक्तराज रसाइली
काठमाण्डौ । अब धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले सेयर खरिदबिक्री गर्न नपाउने भएका छन् ।

पूँजीबजार तथा मुद्रा बजारसम्बन्धी अध्ययन गर्न गठित अर्थसमितिको उपसमितिले तयार पारेको प्रतिवेदन आज शुक्रबार अर्थसमितिले पास गरेको छ ।

ब्रोकरहरु संस्थागत नभएका र  इन्साइडर ट्रेडिङ ब्रोकरबाट पनि हुने गरेको निश्कर्ष निकाल्दै अब उप्रान्त ब्रोकरलाई आफ्नो र परिवारको नामबाट सेयर खरिदबिक्री गर्न बन्देज गरिएको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले बिजशालालाई जानकारी दिए । 

'अब ब्रोकरले आफ्ना लागि सेयर किनबेच गर्न पाउँदैनन् ।' उनले बिजशालासँग भने-'उनीहरूले अब ब्रोकर कमिसनका लागि मात्रै विशुद्ध काम गर्नुपर्छ । आफैं सेयर कारोबारमा संलग्न हुँदा ठूलो इन्साइडर ट्रेडिङ हुने खतरा बढ्छ । बजारमा व्यापक चलखेल ब्रोकरबाटै हुने गरेको देखिएपछि हामीले सेयर किनबेचमा बन्देज लगाएका हौं ।'

अब ब्रोकरहरुले रिटेल मार्केट डिलर मार्फत मात्रै सेयर किनबेच गर्नसक्ने सभापति दाहालको भनाई छ । यसका साथै ब्रोकरहरुलाई एड्भाइजरी सर्भिस, इस्यू मेनेजर लगायत नियामकले तोकेको चुक्तापूँजी कायम गरेपश्चात सेवा प्रदान गर्न सक्ने उनी बताउँछन् ।  

'ब्रोकरहरु अब १० करोड रुपैयाँ चुक्ता पूजी बनाइ अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानैपर्ने हुन्छ', दाहाल भन्छ्न-'अब ब्रोकरहरु पनि कर्पोरेट कल्चरमा जानै पर्छ ।' 

यसअघि ब्रोकरहरुले आफ्नै ब्रोकरेज हाउसबाट सेयर खरिदबिक्री गर्न बन्देज भएतापनि अर्को ब्रोकर कम्पनीबाट भने वैद्य तवरले नै निर्वाध रूपमा सेयर खरिदबिक्री गर्दै आइरहेका छन् । 

सेयर बजारमा अघोषित रूपमा नै ब्रोकरहरु स्टक डिलरका रूपमा चिनिन्छन ।