काठमाण्डौ । आगामी सातादेखि बजार बढ्ने संकेत देखिएको छ । बजारमा झिनो अंकको वृद्धि भए पनि सेयर खरीदको चाप बढेपछि आगामी सातादेखि बजारमा केही सुधार आउने संकेत देखिएको हो ।

केही दिनदेखि स्थिर बनिरहेको बजारमा बुधबार झिनो  अंकको गिरावट देखिएको थियो । साताको अन्तिम कारोबार दिन चाहि कारोबारमा समेत वृद्धि भएको छ भने परिसुचकमा ०.३२ अंकले वृद्धि भएको छ । विश्लेषकहरुका अनुसार यो साताको अन्तिम कारोबार दिन खरीदको चाप केही बढेको छ । यो संकेतले आगामी साताको पहिलो कारोबार दिनदेखि नै  खरीद चाप अझ बढेर बजारले उचाई लिने आशा गरिएको छ ।

बिहीबार वाणिज्य बैंक र अन्य समुह बाहेक बाँकी सबैको सुचक बढेका छन् । वाणिज्य बैंक(बैकिङ) समूह ५.७९ अंकले घटेको छ भने अन्य समूहमा ४.९१ अंकको गिरावट देखिएको छ ।

यो दिन सबैभन्दा बढी होटल समूहमा वृद्धि देखिएको छ । यो समूहको सूचकमा ३ प्रतिशत भन्दा बढीको उछाल देखिएको हो । विकास बैंक समूह ६.०५, जलविद्युत समूह १४.७६, बित्त समूह ६.२८ र बिमा समूह ६९.८ अंकले बढे ।

सेन्सेटिभ इण्डेक्स  र फ्लोट इण्डेक्स क्रमशः ०.५९ र ०.२१ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार बजारमा १ सय ४३ कम्पनीका कुल १४ लाख ५१ ह्जार ५ सय २० कित्ता सेयर १ अर्ब १० करोड ४३ लाख २ हजार २ सय १८ रुपैयाँमा किनबेच भएका छन् ।
सबैभन्दा बढी  सिद्धार्थ इन्स्योरेन्सले ५ करोड ८२ लाख बढीको कारोबार गरेको छ ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ३ लाख, राष्ट्रिय बिमा कम्पनी लिमीटेडले ४ करोड ८८ लाख, प्रभु बैंकले ४ करोड २० लाख, सूर्य लाइफ इन्स्योरेन्सले ४ करोड ९ लाख, एनबी इन्स्योरेन्सले ३ करोड ६६ लाख, एनसीसी बैंकले ३ करोड ६५ लाख बढीको कारोबार गरेका छन् । यो दिन धेरै कारोबार  गर्ने १० कम्पनीको सुचिमा ८ स्थान बिमा कम्पनी र बाँकी २ स्थान वाणिज्य बैंकले कब्जा गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार ५ कम्पनीले पैसा छापेका छन् । एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने मेरो माइक्रो फाइनान्स बित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र ललितपुरको फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।

यो दिन सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्यमा साढे ४ प्रतिशतको हाराहारीमा घट्यो । वरुण हाइड्रोपावरको मूल्य समेत साढे ३ प्रतिशतको हाराहारीमा घट्यो ।