काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र केही सेयर दलालहरुको मिलेमतोमा लगानीकर्ताको आन्दोलनपछि तीव्र बनेको बजारको चलखेलले अनौठो परिणाम देखाउन थालेको छ । 

बजारमा खुलेआम चलखेल भएर निश्चित समूहले मनपरी गर्दा समेत नियामकहरु चूपचाप बसेका छन् । आन्दोलन गरेर बजारलाई सुधार गर्छौ भन्ने सेयर लगानीकर्ता संघका पदाधिकारी समेत पछिल्लो समय सुस्त बन्दा समस्या थप विकराल बन्दै गएको छ ।

बजारमा तीव्र चलखेल भएकै कारण नेप्से परिसूचक दोहोरो अंकले बढ्दा समेत कारोबार चाहि २६ करोडको न्यून विन्दूमा झरेको हो । तीव्र चलखेलकै कारण आगामी दिनमा समेत बजारले सकारात्मक संकेत नदिने भन्दै लगानीकर्ता त्रसित मानसिकतामा देखिएका छन् । बजारमा खुलेआम चलखेल भएर निश्चित समूहले मनपरी गर्दा समेत नियामकहरु चूपचाप बसेका छन् । आन्दोलन गरेर बजारलाई सुधार गर्छौ भन्ने सेयर लगानीकर्ता संघका पदाधिकारी समेत पछिल्लो समय सुस्त बन्दा समस्या थप विकराल बन्दै गएको छ । सबै पक्षको उदासीनता र तीव्र चलखेलले सर्वसाधारण लगानीकर्ता चाहि मर्काका शिकार भइरहेका छन् । 

बजार परिसूचक सोमबार ११.५२ अंकले बढे पनि कारोबार रकम चाहि २६ करोडमा झरेको छ । नेप्से परिसूचक १४५८.९७ अंकको उचाईमा रहे पनि कारोबारमा यसरी कमी आउनुलाई दुनियाँको आँखामा छारो हाल्नैका लागि बजार बढाउने नाटक रचिएको प्रष्ट हुने एक विश्लेषक बताउँछन् । ''बजारमा निश्चित समूहको सिण्डिकेट रहेको र उनीहरुले जस्तो र जहिले चाह्यो बजारलाई त्यस्तै र सोही समयमा घटाउने र बढाउने काम गर्न सक्छन् भन्ने कुराको प्रमाण समेत हो यो ।'' ती विश्लेषकले बिजशालासँग भने-''सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम चाहि २६ करोडमा झर्नु भविष्यमा बजार तथा लगानीकर्ताका लागि खतरा हो, लगानीकर्ता यस्ता चलखेलप्रति बेलैमा सचेत हुनुपर्छ ।'' 

सोमबार होटल र विकास बैंक बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । वाणिज्य बैंक समूह ११.०३ अंकले बढेको छ भने जलविद्युत समूहमा ९.९३, बिमा समूहमा १४७.८३, बित्त समूहमा ४.९६ र अन्य समूहमा २.८६ अंकको बढोत्तरी भएको छ । होटल समूह ५.३९ अंकले घटेको छ भने विकास बैंकमा १.४७ अंकको झिनो गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
सोमबार ११७ कम्पनीका कुल २६ करोड ४५ लाखको सेयर किनबेच भयो । वाणिज्य बैंकहरुले १२ करोड ५४ लाखको मात्र कारोबार गरे । बिमा कम्पनीहरुले ७ करोड ६३ लाख, विकास बैंकहरुले ४ करोडको मात्र कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले २ करोड  ८८ लाख रुपैयाँको गर्यो । यस्तै, कुमारी बैंकले १ करोड ७० लाखको कारोबार गर्यो भने सिटिजन्स बैंक इन्टरनेशनलले १ करोड २९ लाखको कारोबार गर्यो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा यी ३ बाहेक अन्य कम्पनीको कारोबार १ करोडको उचाईमा समेत पुगेन । 

धेरै कमाउने र गुमाउने कम्पनी
चलखेल व्याप्त बजारमा दुई कम्पनीले पैसा छापे । कर्णाली डेभलपमेन्ट बैंक र एनबी इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो । 

यस्तै, महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा चाहि सबैभन्दा ठूलो पहिरो गयो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो ।