काठमाण्डौ । हकप्रदको बाढी र बिक्रीको उच्च चापका कारण सेयर बजारमा साताको पहिलो कारोबार दिन नै पहिरो गएको छ । अघिल्लो साताभर स्थिरजस्तो देखिएको बजार यो साताको पहिलो दिनदेखि नै उच्च अंकले घट्न थालेको हो । यो दिन नेप्से परिसूचक २४.२ अंकले घटेर १६२८.९८ अंकमा झरेको छ ।

‘चुनावका कारण लामो विदा हुने भएकोले र चुनावपछिको राजनीतिक माहौल हेरेर मात्र लगानी गर्ने सोचका साथ खरिदकर्ता अहिले निस्क्रिय छन्, यसैको प्रभाव पनि बजारमा देखिएको छ । यस्तै, चुनावको मुखमा नबढेको बजार अब बढ्दैन भन्ने ठानेर बिक्रेताहरु पनि थोरै भए पनि नाफा बुक गरेर बिक्रीको हतारोमा छन् ।'

बजारका ६ वटा समूहको परिसूचक १ प्रतिशत भन्दा बढी अंकले घटेका छन् । २ अंकमा मात्र हरियो पोतियो, त्यो पनि झिनो अंकको वृद्धिसँग मात्र ।

कारोबार रकम पनि ६९ करोड मात्र भयो । यसरी बजारमा नेप्से परिसूचक र कारोबार रकम एकसाथ घट्नुलाई विश्लेषकले खतराको सूचक भन्छन् । यो प्रवृति निरन्तर रहे बजारमा बियरिस टेण्ड सुरु हुनसक्ने विश्लेषकहरुले तर्क गर्ने गरेका छन् । राजनीतिक वातावरण संग्लिएर देशभर चुनाव रन्को लागेको अवस्थामा समेत  बजारमा पहरो जानुले समेत खतराको संकेत गरेको केहीको भनाई छ ।

स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालले चुनावको रन्कोले देशलाई छोए पनि बजारमा दोहोरो अंकको पहिरो जानुलाई ‘अस्वभाविक घटना’ भनेका छन् । ‘यसले बजार अझै घट्ने पो हो कि भन्ने आशंकालाई बल पुर्याउँछ ।’ उनले बिजशालासँग भने–‘चुनावका कारण लामो विदा हुने भएकोले र चुनावपछिको राजनीतिक माहौल हेरेर मात्र लगानी गर्ने सोचका साथ खरिदकर्ता अहिले निस्क्रिय छन्, यसैको प्रभाव पनि बजारमा देखिएको छ ।’

उनका अनुसार खरीद गर्नेहरु चुनावको परिणाम आउँदासम्मको समयलाई पर्खिने योजनामा देखिएका छन् भने चुनावको मुखमा बजार बढ्ने आशामा सेयर बिक्री नगरी बसेकाहरु पनि बजार घटेपछि हतारिएर बिक्रीका लागि दौडिएका छन् । ‘चुनावको मुखमा नबढेको बजार अब बढ्दैन भन्ने ठानेर बिक्रेताहरु पनि थोरै भए पनि नाफा बुक गरेर बिक्रीको हतारोमा छन् ।’–उनले थपे ।

उनका अनुसार बजारमा परिसूचकको गिरावटसँगै टर्नओभरको घट्नु बजार अझ घट्छ भन्ने संकेत पनि हो । ‘नेप्सेसँगै टर्नओभर घट्नु भनेको बजारमा सेयरको आपूर्ति अनुसार माग छैन भन्ने हो ।’ उनले भने–‘यहीकारण भविष्यमा बजार अझ तल जानसक्ने खतरा छ ।’

यस्तो रह्यो बजार
सबैभन्दा बढी  बैकिङ(वाणिज्य बैंक) समूह  २७.९५ अंकले घटेको छ । यस्तै, बिमा समूहको सूचक ११२.३ अंक, विकास बैंक २२.४४ अंक, बित्त समूह १०.८६ अंक, होटल समूह २३.७८ र जलविद्युत समूह ३१.९१ अंकले घटेका छन् । उत्पादनमूलकमा ५.२६  र अन्य समूहमा ०.२९ अंकको झिनो बृद्धि देखिएको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयरमा आकर्षण घटेका कारण सेन्सेटिभ इण्डेक्स ५.६२ र फ्लोट इण्डेक्स १.९६ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यो दिन १ सय ४१ कम्पनीका ९ लाख ९९ हजार ७ सय १२ कित्ता सेयर ६९ करोड २४ लाख १२ हजार ६८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सेयर ६ करोड २१ लाख बढीको कारोबार भयो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ करोड १४ लाख, प्रभू बैंकले ३ करोड ५३ लाख, एनसीसी बैंकले २ करोड ३४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३३ लाख, सनराइज बैंकले २ करोड २८ लाख बढीको कारोबार गरेका छन् । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंकले, ४ स्थान बिमा कम्पनी र एक स्थान जलविद्युत कम्पनीले कब्जा गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार साहारा  विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने मेरो माइक्रो फाइनान्सको मूल्यमा ८.०९ प्रतिशतको बढोत्तरी भएको छ ।

यस्तै, यो दिन नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.७१ अंकले घट्यो । यस्तै, किसान माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा ८ प्रतिशतको हाराहारीमा गिरावट देखियो ।