काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको मतपरिणामको मैजारो हुनलाग्दा समेत बजारमा उत्साह देखिन सकेको छैन । लगानीकर्ता अझै पर्ख र हेरको रणनीतिमा बस्दा र बजार केही घटेर(घटाएर) सस्तोमा सेयर किन्ने दिनको प्रतिक्षाका लागि ठूला लगानीकर्ता पनि चूप बसिदिंदा बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ । 

बजार परिसूचक १०.८४ अंकले घटेर १६१६.४० अंकमा झर्दा कारोबार रकममा पनि ठूलै पहिरो गएको छ । बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर घट्नुलाई विश्लेषकहरुले खतराको घण्टी भन्ने गरेका छन् । उनीहरुले बजारमा क्रयशक्तिमा क्षयीकरण भई कारोबारमा समेत खासै उत्साह नआउँदा इण्डेक्स र टर्नओभर एकसाथ घट्ने र यो क्रम केही दिनसम्म निरन्तर रहे बजारमा बियरिस ट्रेण्ड समेत सुरु हुनसक्ने दाबी गर्छन । सोमबारको गिरावटलाई खतराको रुपमा बुझिए पनि एकदिनकै गिरावटले बियरिस टेण्ड भने सुरु हुने संकेत नगर्ने अधिकांशको बुुझाई छ । विज्ञहरुले इण्डेक्स र टर्नओभर समानान्तर ढंगले घट्दा लगानीकर्ताले सम्हालिएर सेयर बिक्री वा खरीदको निर्णय लिनुपर्ने सुुझाव दिने गर्छन । 

साताको दोश्रो कारोबार दिन तीन समूहको सूचकमा हरियो र बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । बजारलाई प्रभावित पार्नसक्ने बैकिंग समूह सोमबार पनि दोहोरो अंकले घटेको छ । यो समूहमा १४.२२ अंकको गिरावट देखियो । यस्तै, बैंकपछि बजारलाई प्रभावित पार्नसक्ने बिमा समूहको सूचकमा पनि गिरावट देखिएको छ । यो समूह सोमबार ६५.३६ अंकले घटेको छ । यस्तै, विकास बैंक र जलविद्युत समूह क्रमशः ५.६७ र १०.१३ अंकले घटेका छन् । 

होटल समूह १२.७२ अंकले बढेको छ भने बित्त समूह र उत्पादनमूलकमा क्रमशः ०.११ र २०.६४ अंकको वृद्धि देखिएको छ । 

'क' वर्गका कम्पनीहरुको कारोबारमा सुधार नहुँदा सोमबार पनि सेन्सेटिभ इण्डेक्स २.५५ अंकले घटेको छ । समग्र कारोबार समेत नसुध्रदा फ्लोट इण्डेक्स पनि ०.७१ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
साताको दोश्रो कारोबार दिन बजारमा १ सय ४५ कम्पनीका ९ लाख ८५ हजार ५ सय ५० कित्ता सेयर कुल ५२ करोड ८६ लाख ७९ हजार ९ सय २२ रुपैयाँमा किनबेच भएका छन् । आइतबार भन्दा सोमबारको कारोबारमा १५ करोड बढीको गिरावट आएको हो । आइतबार ६८ करोड १८ लाख बढीको कारोबार भएको थियो । 

सोमबार सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले ८ करोड बढीको कारोबार गर्यो । बैंक अफ काठमाण्डूू लिमीटेडले ३ करोड ५७ लाख, हिमालयन जनरल इन्स्योरेन्सले ३ करोड १५ लाख, प्रभूू बैंकले १ करोड ७० लाख, प्रभूू इन्स्योरेन्सले १ करोड ६७ लाख, सिद्धार्थ बैंकले १ करोड ६५ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड ६० लाख भन्दा बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक र ४ स्थान बिमा कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार चार कम्पनीका लगानीकर्ता मालामाल भए । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड र मेरो माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतको दरले बढ्यो । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि देखियो भने हिमालयन डिस्टीलरी लिमीटेडको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढेको छ । 

यो दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सबैभन्दा बढी ४ प्रतिशतको हाराहारीमा घटेको छ । साहारा विकास बैंकका लगानीकर्ताले पनि ४ प्रतिशतकै हाराहारीमा सम्पत्ति गुमाएका छन् ।