काठमाण्डौ । साताको दोश्रो दिन सोमबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक २०.८२ अंकले घटेर १५५५.१६ अंकमा झरेको हो ।

बजारमा हकप्रदको बाढी आएर पैसा थप्ने  विकल्प लगानीकर्तासँग नहुँदा र नयाँ बिमा कम्पनीमा समेत पुँजी जुटाउनुपर्ने बाध्यतामा पर्दा बजारमा पहिरो गएको हो । बिमा समितिले संचालन स्वीकृति दिएका नयाँ बिमा कम्पनीका अधिकांश प्रोमोटरहरु दोश्रो बजारका लगानीकर्ता समेत हुन् । तीमध्ये कतिपय त संस्थागत लगानीकर्ता समेत छन् । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्तापुँजी १ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब हुनैपर्ने सीमा तोकेको छ । यसले समेत पुँजी जुटाउन कतिपय संस्थागत लगानीकर्ताले दोश्रो बजारमा कतिपय कम्पनीका सेयर बिक्री गरिरहेका छन् ।

विश्लेषकहरुका अनुसार चुनावी खर्चको रुपमा सरकारी ढिकुटीमा थुप्रिएको रकम निकासा भएर तरलताको अवस्था केही सहज भई बैंकको ब्याजदर घटेपछि अवस्था केही सहज हुने भए पनि तत्काल बजार बढ्ने संभावना छैन । कतिपय लगानीकर्ता असार सकिएपछि आउने बैंक तथा बित्तीय संस्था तथा कम्पनीहरुको वार्षिक प्रगति विवरणको पर्खाईमा रहने र त्यस्तो विवरणबाट आगामी दिनमा पाउन सकिने प्रतिफलको समेत आँकलन गर्न सकिने भएकोले 'पर्ख र हेर'को रणनीतिमा छन् । यसले समेत बजार घटाउन थप मद्धत गरिरहेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार समेत बजार दोहोरो अंकले घटेको थियो । आइतबारको भन्दा सोमबारको गिरावट अझ बढ्यो । सोमबार क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.२९ अंकले घट्यो भने फ्लोट इण्डेक्समा १.६४ अंकको गिरावट देखियो ।

बजारका सबै समूहको सूचकमा रातो पोतियो । वाणिज्य बैंक समूहमा २०.३८ अंकको पहिरो गयो भने विकास बैंक, बिमा, बित्त समूह क्रमशः २१.३१, १४२.८९ र १० अंकले घटे । होटल समूह १६.६२, जलविद्यूत १८.५१, उत्पादनमूलक २३.२५ र अन्य समूह २.३१ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी
सोमबार १ सय ३७ कम्पनीका ८ लाख १४ हजार ४ सय ५३ कित्ता सेयर ६५ करोडको हाराहारीमा किनबेच भयो । एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा बढी १५ करोड ६६ लाख बढीको कारोबार गर्यो । एभरेष्ट बैंकले ६ करोडको हाराहारीमा कारोबार गर्यो भने प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड बढी, स्ट्याण्डर्ड चार्टर्डले २ करोड ५७ लाख बढी, लुम्बिनी जनरल इन्स्योरेन्सले १ करोड ७९ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान बिमा कम्पनी, ३ स्थान वाणिज्य बैंक र एक स्थान विकास बैंकले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य बढ्यो । यो कम्पनीको सेयर मूल्य ३.११ प्रतिशतले बढ्यो । कञ्चन डेभलपमेन्ट बैंकको मूल्य २ प्रतिशतले मात्र बढ्यो । यो दिन १३ कम्पनीको मूल्य सामान्य रुपमा बढ्यो भने बाँकी १ सय २४ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे ।

यो दिन एभरेष्ट बैंकको कन्भर्टेड प्रिफरेन्स सेयरको मूल्यमा पहिरो गयो । यो सेयरको मूल्य ९.४४ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, मिथिला लघुवित्त विकास बैंकको मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।