काठमाण्डौ । बिमा कम्पनीहरुले पूँजीवृद्धिको योजना धमाधम बिमा समितिमा पेश गरेको खबर बाहिर आएसँगै बिमा समूहको सूचकले दैनिकजसो छलांग मारिरहेको छ । बुधबार पनि बजारमा बिमा समूहकै दबदबा कायम रह्यो । बिमाको गज्जबको प्रदर्शनअघि अन्य समूह फिक्का साबित भए । 

लगानीकर्ताहरु बिमाको पछि दगुुर्दा बुधबार पनि वाणिज्य बैंक(बैकिङ)समूहमा रातो पोतियो ।

बिमाको उत्कृष्ट प्रदर्शनका कारण नेप्से परिसूचक ८.८४ अंकले बढेर १६४५.०३ विन्दूमा पुुगेको छ भने कारोबारले समेत छलांग मारेको छ । १ अर्ब २९ करोड बढीको कारोबार हुँदा बिमा कम्पनीहरुले मात्रै ६३ करोड ४० लाख बढीको कारोबार गर्न सफल भए । 

मंगलबारको तुलनामा बुधबार वाणिज्य बैंकको गिरावट गति केही तीव्र भएको छ । यो दिन यो समूहमा ५.४२ अंकको गिरावट देखियो । जलविद्युत समूह समेत १.९९ अंकले घट्यो । बाँकी सबै समूहको सूचकमा हरियो पोतियो । 

यो दिन सबैभन्दा बढी बिमा समूहको सूचक वृद्धि भयो । यो समूहको सूचकमा ३०९.८९ अंक(३.२५ प्रतिशत)को वृद्धि देखियो । होटल समूह २५.४३ अंकले बढ्यो भने विकास बैंक समूह १४.४१, बित्त समूह ४.०३, उत्पादनमूलक ३५.४२ र अन्य समूह ०.८७ अंकले बढे । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा केही सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स १.०१ अंकले बढ्यो । समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.४९ अंकले वृद्धि भयो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार बजारमा १ सय ५६ कम्पनीको २५ लाख ३५ हजार ६ सय ६६ कित्ता सेयर १ अर्ब २९ करोड ३ लाख ४१ हजार ३ सय ४८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी प्रभूू इन्स्योेरेन्सले ९ करोड १६ लाख बढीको कारोबार गर्यो । राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ५ करोड ८८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रूडेन्सियल इन्स्योरेन्सले ४ करोड ४९ लाख, यूनाइटेड इन्स्योरेन्सले ४ करोड ४८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ४७ लाख बढीको कारोबार गरे । प्रभूू बैंकको ३ करोड ७९ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सिद्धार्थ इन्स्योरेन्सले ३ करोड ७० लाख, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ३७ लाख, नेपाल इन्स्योरेन्स कर्पोरेसनले ३ करोड ३६ लाख र गुराँस लाइफ इन्स्योरेन्सले ३ करोड ११ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान बिमा कम्पनी र बाँकी एक स्थान वाणिज्य बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
कारोबारमा बिमा कम्पनीको कब्जा भए पनि कमाउनेमा भने अन्य कम्पनीहरु न्ै अगाडि देखिए । विभिन्न ५ कम्पनीका लगानीकर्ताले यो दिन कुस्त कमाए । हिमालयन डिस्टीलरी, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाको मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, एनबी इन्स्योरेन्स, प्रोग्रेसिभ फाइनान्स र लुम्बिनी विकास बैंकको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । 

बुधबार न्याग्दी ग्रुप पावर लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतको हाराहारीले गिरावट आयो ।