काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताले सोझै सेयरको खरिदबिक्री गर्न पाउँदैनन् । ब्रोकर कम्पनीमार्फत चाहेको सेयर खरीदबिक्रीको अर्डर दिएपछि मात्र कारोबारको प्रक्रिया सुरु हुन्छ । यहीकारण ब्रोकरहरुले कर लगायतका कतिपय संवेदनशील मुद्धाहरुमा समेत बेला बेला सिण्डिकेटको प्रभाव खुलेआम देखाइदिन्छन् । लगानीकर्ताले सेयर खरीद गर्ने उत्कट चाहना राखे पनि यदि ब्रोकरले चाहेनन् भने कसैको केही लाग्दैन । ब्रोकरको यस्तै सिण्डिकेटका कारण सोमबार सेयर कारोबार(टर्नओभर)मा भारि गिरावट आएको छ । 

धितोपत्र बोर्डले नियमन शुल्क समयमै नतिरेका कारण ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज प्रालि, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज प्रालि, बोक्रर नं ५५ भृकुटि स्टक ब्रोकिङ कम्पनी, ब्रोकर नं ४० क्रियटिभ सेक्युरिटिज प्रालि, ब्रोकर नं ४४ डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्रालि, ब्रोकर नं २८ श्रीकृष्ण सेक्युरिटिज लिमीटेड र ब्रोकर नं ४३ साउथ एशियन बुल्स प्रालिलाई एकसाथ निलम्बन गरेपछि यसको प्रभाव बजारमा देखिएको हो । 

यी ७ ब्रोकर कम्पनीलाई अर्को सूचना जारी नभएसम्मका लागि कारबाही स्वरुप निलम्बन गरिएको नेप्सेले जनाएको छ । कारोबार निलम्बन भएका कारण ७ वटा ब्रोकर कम्पनीले लगानीकर्ताको खरीदबिक्रीको अर्डर उठाउन पाएनन्, जसको प्रत्यक्ष प्रभाव बजारमा पर्यो । 

सोमबार नेप्से परिसूचक ६.४ अंकले घटे पनि कारोबार रकममा २७ करोडको गिरावट आयो । यो दिन ५२ करोडको कारोबार भयो । 

यो दिन अधिकांश समूहको सूचकमा रातो पोतियो । बैकिंग समूह ४.४३, बिमा समूह ७५.९५, होटल समूह ३.२६, विकास बैंक समूह ९.७८, जलविद्युत ३.८७, बित्त समूह ०.६५, उत्पादनमूलक समूह १८.३९ अंकले घटेका छन् । अन्य समूह भने ०.५७ अंकले बढ्यो । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.१२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.४४ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५४ कम्पनीका २६ लाख ८७ हजार १ सय २ कित्ता सेयर ५२ करोड २० लाख ४ हजार १ सय ३७ रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी प्राइम लाइफ इन्स्योरेन्सले ७ करोड २१ लाख बढीको कारोबार गर्यो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ ले २ करोड ७८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६५ लाख, साना किसान विकास बैंकले १ करोड ५३ लाख, प्राइम कमर्सियल बैंकले १ करोड ३९ लाख, लक्ष्मी बैंकले १ करोड ३८ लाख, स्ट्याण्डर्डले १ करोड ३७ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ वटा वाणिज्य बैंक, ४ वटा बिमा कम्पनी, एक म्युुचुुअल फण्ड र एक विकास बैंक कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हिमालयन पावर पार्टनर लिमीटेड र वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले सबैभन्दा धेरै कमाए । यी दुुई कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भयो । 

हिमालयन डिस्टीलरी लिमीटेडले सो दिन सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको पहिरो गयो । मिसन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर लिमीटेडको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो ।