काठमाण्डौ । विगत केही दिनदेखि पूँजीबजारमा शुुभ संकेतहरु देखिन थालेका छन् । ठूला लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा समेत साना लगानीकर्ताहरुको जोडबलले बजार परिसूचक झिनो नै भए पनि बढिरहेको छ भने कारोबारले समेत बजारलाई स्वर्णिम काल(बढोत्तरीको समय)तर्फ डोहोर्याउँदै लग्न थालेको प्रतीत हुन्छ । 

धेरै विश्लेषकहरुले बजारले हरेक दिन बढोत्तरीको यात्रा तय गरिरहेको, नेप्से परिसूचक र कारोबार रकम बढिरहेको, कारोबारले बजारलाई बलियो बनाइरहेको भन्दै ठूला लगानीकर्ता केही सक्रिय हुनेबित्तिकै बजार बुम हुनसक्ने आँकलन गर्न थालेका छन् । 

ठूला लगानीकर्ता राजनीतिमा देखिएको अन्यौलको छाया हट्ने आशामा पर्खिएर बसेका छन् । उनीहरु तरलताको अवस्था निकै सहज भएको निश्कर्षसहित बैंक तथा बित्तीय संस्थाहरुले सेयर कर्जामा लिने ब्याजदर घटाउने प्रतिक्षा गरिरहेका छन् । निर्वाचन नहोला कि भन्ने झिनो आशंकाको बादल फाटेपछि र सेयर कर्जाको ब्याजदर केही घटेपछि उनीहरु आक्रामक ढंगले बजारमा आउनेछन् । त्यसपछि बजार बढ्ने विश्लेषक बताउँछन् । 

त्यसो त पछिल्लो समय नेप्सेले नेतृत्व पाएको छ । नेतृत्वमा आएका चन्द्रसिंह साउदले आम लगानीकर्ताले अपेक्षा गरेअनुसार पूर्ण स्वचालित अनलाइन प्रणाली शीघ्र सुचारु गर्ने, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन पहल गर्ने, ब्रोकरको कार्यक्षेत्र बिस्तारमा ध्यान दिने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेप्से प्रमुखको प्रतिबद्धताले समेत बजारलाई केही टेवा पुुगेको हुनसक्ने कतिपयको आँकलन छ । 

बिहीबार के भयो बजारमा ?
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.०३ अंकले बढेर १५१०.०२ को उचाईमा पुुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.१३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.०२ अंकले बढेको छ । 

यो दिन बैकिङ समूह २.०१, ट्रेडिङ समूह ०.२५ र अन्य समूह ३०.०७ अंकले बढेको छ भने बाँकी सबै समूहमा गिरावट आएको छ । होटल समूह ४.०८, विकास बैंक ५.४२, जलविद्युत समूह ७.०३, बित्त समूह ३.१३, बिमा समूह २१.८ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कुल १ सय ५४ कम्पनीका ८ लाख ९९ हजार ३ सय ३६ कित्ता सेयर ४० करोड ४८ लाख ६ सय १ रुपैयाँमा किनबेच भएको छ । बुधबार ३२ करोड २३ लाख बढीको कारोबार भएको थियो । 

यो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीले ७ करोड २० लाख बढीको कारोबार गर्यो । नेपाल टेलिकमले ३ करोड ५० लाख, कुमारी बैंकले १ करोड ७७ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ४३ लाख, नेपाल बैंकले १ करोड २ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थान वाणिज्य बैंकले, एक स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनी र बाँकी एक स्थान अन्य कम्पनीले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
रिलायन्स फाइनान्स लिमीटेडले यो दिन सबैभन्दा धेरै कमाएको छ । यो कम्पनीको सेयर मूल्य ५.५३ प्रतिशतले बढेको छ । यस्तै, नेपाल टेलिकमका सेयरधनीले समेत ५ प्रतिशतको हाराहारीमा कमाएका छन् । जनरल फाइनान्स र नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन सिर्जना फाइनान्स बित्तीय संस्था र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतको हाराहारीले गिरावट आयो ।