काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनबाट सुरु भएको बजारको बृद्धि यात्रा सोमबार पनि जारी रह्यो । आइतबार अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकम घटेको थियो । तर, सोमबार नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा समेत उछाल आएको छ । परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर) यसरी समानान्तर ढंगले बढ्नुु बजारका लागि शुुभ संकेत हो । यसले भविष्यमा बजार अझै धेरै बढ्नसक्ने संकेत गर्ने विश्लेषकहरु बताउँछन् । 

बैंक तथा बित्तीय संस्था लगायतका सूचिकृत कम्पनीहरुले धमाधम घोषणा गरेका लाभांश पारित गराउन साधारणसभा आह्वान गरेका र सो प्रयोजनका लागि बुक क्लोजको मिति नजिकिदै जाँदा राम्रा कम्पनीको सेयर खरीद गर्नेहरुको बजारमा चाप देखिएको हो । 

यस्तै, निकै लामो समय गिरावटको मार व्यहोरेको बजारमा राम्रा कम्पनीहरुको सेयर सस्तोमै उठाउन पाइने भएपछि लामो समयसम्म पर्ख र हेरको अवस्थामा रहेका ठूला तथा संस्थागत लगानीकर्ता समेत सलबलाएका कारण सूचकमा दोहोरो अंकको बढोत्तरीसँगै कारोबारमा उछाल आएको हो । 

यस्तै, निर्वाचनको मिति नजिकिदै जाँदा आर्थिक गतिविधि बढेका कारण यसले समेत बजारको वृद्धि यात्रालाई टेवा दिएको देखिन्छ । अर्कोतर्फ, बामपन्थी गठबन्धनको सरकार आएपछि देशको अर्थतन्त्र ओरालो लाग्छ भन्ने हौवा फिजाइरहेको बेला एमाले अध्यक्ष केपी ओलीले आइतबार झापामा आयोजित एक कार्यक्रममार्फत सेयर लगानीकर्ताहरुको भ्रम चिरेका कारण त्यसको प्रभाव समेत बजारमा परेको देखिन्छ । 

सोमबार नेप्से परिसूचक १३.७४ अंकले बढी १४९०.९८ अंकको उचाईमा फर्किएको छ । यो दिन बजारका २ समूहको सूचकमा गिरावट आए पनि बाँकी सबै समूहको सूचक हराभरा भए । सबैभन्दा बढी जलविद्युत समूहको सूचकमा उछाल देखियो । यो समूहको सूचक ७५.३१ अंक(४.१५ प्रतिशत)ले वृद्धि भयो । यस्तै, बैकिंग समूह १०.९१ अंक, बित्त समूह १० अंक, बिमा समूह १४.९, उत्पादनमूलक १२.८, अन्य समूह १८.५१ र माइक्रोफाइनान्स समूह १०.९९ अंकले वृद्धि भए । यस्तै, होटल समूह १२.०३ अंक र विकास बैंक समूह २.३ अंकले घटेका छन् । 

सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा लगानीकर्ताहरुले मरिहत्ते गर्दा सेन्सेटिभ इण्डेक्स ३.४७ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.०३ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका १७ लाख ३० हजार ५ सय ७२ कित्ता सेयर ७१ करोड ४६ लाख ५७ हजार ४ सय ५९ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी गुरासँ लाइफ इन्स्योरेन्सको ११ करोड २४ लाख बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, प्रभूू बैंकको पनि ५ करोड ७३ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

चिलिमे हाइड्रोपावर कम्पनीले ३ करोड २० लाख, नागरिक लगानी कोषले २ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड २९ लाख बढीको कारोबार गरे । यसैगरी, प्राइम कमर्सियल बैंकले २ करोड १५ लाख, नेपाल टेलिकमले २ करोड ८ लाख, राष्टिय बिमा कम्पनी लिमीटेडको १ करोड ९८ लाख बढीको संस्थापक सेयर, एभरेष्ट बैंकले १ करोड ९६ लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीका सेयरधनीले कमाए । यो कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले वृद्धि भयो । लक्ष्मी लघुवित्त बित्तीय संस्थाको सेयर मूल्य ७.४३ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ७.१४ प्रतिशतले वृद्धि भयो । 

यो दिन प्रभूू बैंकका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । प्रभूूको संस्थापक सेयरको मूल्यमा ६.३१ प्रतिशतले गिरावट आयो । तिनाउ डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, किसान माइक्रोफाइनान्स, ओरिएन्टल होटल, राष्ट्रिय बिमा कम्पनीले ३ प्रतिशत भन्दा बढीको दरले सम्पत्ति गुमाए ।