काठमाण्डौ । बिक्रीकर्ताहरु घटेसँगै खरीदकर्ताको चाप बढेपछि बुधबार पनि नेप्से परिसूचक बढेको छ । यो दिन ८.०२ अंकले बढी नेप्से परिसूचक १४८०.२६ अंकको उचाईमा पुुगेको छ । 

परिसूचक बढे पनि कारोबार रकम भने केही घटेको छ । परिसूचक बढेर कारोबार रकम घट्नुले बजारमा खरीद गर्नेहरु बढेका र बिक्री गर्नेहरु घटेका देखिएको छ । धेरै लगानीकर्ता फेरि पनि पर्ख र हेरको अवस्थामा बसेका छन् । कतिपयले निर्वाचनपछिको अवस्थामा मात्र खरीदबिक्रीको निर्णय  लिने रणनीति बनाएका देखिन्छ । 

खरीदकर्ताहरु यसरी दिनहुँ बढ्दै जानुु बजारका लागि राम्रो संकेत हो । तर, नेप्से परिसूचकसँगै कारोबार रकम बढ्न नसक्नुुले बजार उति बलियो भइहालेको भन्न सकिने अवस्था भने छैन । त्यसै पनि बजारमा १० अंकको घटबढलाई सामान्य मानिन्छ । बुुधबारको वृद्धिलाई समेत सामान्य मानी आगामी दिनमा बजारमा झिनो भए पनि बढोत्तरी होला भन्ने आशा गर्न सकिन्छ । 

यो दिन बित्त र अन्य समूह बाहेक सबै समूहको सूचक बढेको छ । यो दिन बित्त समूह ०.१६ अंकले घटेको छ भने अन्य समूहमा ०.८६ अंकको गिरावट देखिएको छ । 

यो दिन वाणिज्य बैंक समूह ७.६३ अंकले बढेको छ । यस्तै होटल समूह ३५.५६, विकास बैंक समूह ६.७८, जलविद्युत समूह २०.५१, बिमा समूह ५५.७२ र माइक्रोफाइनान्स समूह ६.६ अंकले बढेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार आएका कारण सेन्सेटिभ इण्डेक्स १.९६ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६२ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका ९ लाख ३१ ह्जार ५ सय ३२ कित्ता सेयर ३४ करोड ८२ लाख ८३ हजार ३ सय ५२ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकको २ करोड ६५ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नेपाल टेलिकमले २ करोड २० लाख बढीको कारोबार गर्यो भने एभरेष्ट बैंकले १ करोड ९८ लाखको कारोबार गर्यो । प्रभूु बैंकको १ करोड ६८ लाखको संस्थापक सेयर किनबेच भएको बजारमा बुटवल पावर कम्पनीले १ करोड २६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २५ लाख, नेपाल बैंकले ८७ लाख ७४ हजार, चिलिमे हाइड्रो कम्पनीले ८६ लाख ३० हजार बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । प्रोग्रेसिभ फाइनान्सको मूल्य ५.५० प्रतिशतले वृद्धि भयो । 

यो दिन सिर्जना फाइनान्स बित्तीय संस्थाले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ५.४९ प्रतिशतको गिरावट आयो । यो दिन हिमालयन जनरल इन्स्योरेन्सको मूल्यमा ५.४२ प्रतिशतले गिरावट आएको छ ।