काठमाण्डौ । बजारमा आशाको किरण देखिएको छ । बजारलाई उछालको बाटोमा कुदाउनसक्ने ल्याकत राख्ने बैकिङ र बिमा समूहको सूचकमा बढोत्तरीसँगै लगानीकर्तामा आशाको संचार भएको हो । यो आशाको किरणले बिहानी ल्याउँछ या ल्याउँदैन, त्यसका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ । 

वाणिज्य बैंक र बिमाको बढी होल्ड रहेको बजार यी दुई समूहमा सुधार आउनेबित्तिकै सप्रने गर्छ । बुधबारको बजारमा पनि यस्तै प्रवृति देखिएको छ । 

बजार २.२६ अंकले बढेर १४०४.२९ अंकको उचाईमा पुगेको छ भने ३१ करोड भन्दा बढीको सेयर किनबेच भएको छ । 

यो दिन जलविद्युत,  उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूहको सूचक बढेका छन् । जलविद्युत समूह ८.१ अंक, उत्पादनमूलक ३.४१ र अन्य समूह ५.५७ अंकले घटेका छन् ।

यस्तै, बैकिङ समूह १.९७, व्यापार समूह ४.२२, होटल समूह ३५.९२, विकास बैंक १०.१७, बित्त समूह ५.७२, बिमा समूह ३१.३४ र माइक्रोफाइनान्स समूह ८.०४ अंकले बढेका छन् । 

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.२६ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५६ कम्पनीका ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयर ३१  करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर किनबेच भयो  । यो कम्पनीले २ करोड ४२ लाख बढीको कारोबार गर्यो । सानिमा माई हाइडोले २ करोड २२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २१ लाख, एनएलजी इन्स्योरेन्सले १ करोड ९६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड २१लाख, नवील बैंकले १ करोड, एनएमबी बैंकले ९० लाख, नेपाल बैंकले ८७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल इन्स्योरेन्स कम्पनी  लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतको हाराहारीले बढोत्तरी भयो । गोर्खाज फाइनान्स र मल्टी प्रपोज फाइनान्स कम्पनीले ६ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए ।

ङादी ग्रुप पावर लिमीटेड र लुम्बिनी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतको हाराहारीमा गुमाए ।