काठमाण्डौ । धितोपत्र बोर्डले आयोजना गरेको पहिलो क्यापिटल एक्स्पोमा लगानीकर्ता झुम्मिएका कारण त्यसको प्रभाव बजारमा देखिएको छ । साना, ठूला, नयाँ तथा पुराना लगानीकर्ता एक्स्पो भइरहेको भृकुटी मण्डपमा बजारको बिषयमा उपलब्ध जानकारी तथा सेवाको बिषयमा बुझ्न जाँदा बजारमा खरीद चाप घटेको छ । बिक्री चाप समेत सामान्य भएका कारण बजार लगभग सन्तुलनकै अवस्थामा रहे पनि बिहीबार नेप्से परिसूचक भने ७.७ अंकले घटी १३४८.४५ को विन्दूमा समेटिएको छ । 

बजार घटे पनि नेप्सेको आरएसआई न्यूट्रल जोनमा छ, यसले बजार सन्तुलित नै रहेको पुष्टि गर्छ । 

यो दिन कारोबार रकम मंगलबारको तुलनामा केही बढेको छ । 

बजारमा यो दिन सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह ३.३४ अंकले घट्यो भने व्यापार समूह ५.८३, होटल समूह ३१.८२, विकास बैंक समूह ५.६७, जलविद्युत समूह २५.६३, बित्त समूह २.४१, बिमा समूह ६९.२८, माइक्रोफाइनान्स समूह १४.४१ र अन्य समूह ६.४६ अंकले घटे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.४८ अंकले घट्यो भने फ्लोट इण्डेक्समा ०.४८ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी 
यो दिन बजारमा १ सय ६१ कम्पनीका ७ लाख ७३ हजार २ सय १० कित्ता सेयर ३५ करोड ८८ लाख ४४ हजार २ सय ६० रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २२ लाख बढीको कारोबार गर्यो । यस्तै, बुटवल पावर कम्पनीले १ करोड ३५ लाख, स्वालम्बन विकास बैंकले १ करोड २७ लाख, एनएमबी बैंकले १ करोड १८ लाख, सिद्धार्थ इन्स्योरेन्सले १ करोड ११ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड ७ लाख बढीको कारोबार गरे । ग्लोबल आइएमई बैंकको ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा राष्ट्रिय बिमा कम्पनीको पनि सोही बराबरको संस्थापक सेयरको कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, सपोर्ट माइक्रोफाइनान्सको मूल्य ५.८० र किसान माइक्रोफाइनान्सको मूल्य ५.०५ प्रतिशतले वृद्धि भयो ।

यो दिन नेरुडे लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले घट्यो ।