काठमाण्डौ । यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १०.२८ अंकले घटेको छ । यो दिन बजारमा ४२ करोड ५१ लाखको सेयर किनबेच भएको छ ।

बजारको पछिल्लो प्रवृति हेर्दा अधिकांश ठूला लगानीकर्ता बजेटको प्रतिक्षामा रहेका देखिन्छन् । जेठ १५ मा प्रस्तुत हुने बजेटमार्फत कस्तो आर्थिक तथा बजार नीति आउँछ भन्ने बिषयमा लगानीकर्ता प्रतिक्षारत छन् । स्थायी सरकार भएका कारण उसले लिने नीतिले सेयरबजारदेखि समग्र अर्थतन्त्रै प्रभाव पार्ने भएकोले धेरै लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेका छन् । ठूला तथा संस्थागत लगानीकर्ता समेत दोश्रो बजारमा लगानी गर्न छाडेर ‘पर्ख र हेर’को रणनीतिमा छन् । कतिपय बैंकको मुद्धती निक्षेपमा लगानी गरेर ढुक्कले बसेका छन् । यसले समेत बजारमा लगानीकर्ताहरुको चहलपहल कम गराएको विश्लेषकहरु बताउँछन् । 

बजेटको तीव्र प्रतिक्षा भइरहँदा बजारले समेत अपेक्षित उचाई लिन सकेको छैन । सोमबार होटल समूहको सूचक ८.६६ अंकले बढ्यो भने उत्पादनमूलकमा २५.६१ अंक र अन्य समूहमा ३.६३ अंकको बढोत्तरी भयो । बाँकी सबै समूहको सूचक घटे । 

यो दिन बैकिङ समूह १०.०४ अंकले घट्यो भने बिमा, विकास बैंक र माइक्रोफाइनान्समा क्रमशः ६९.९६ अंक, २६.९१ र २२.५९ अंकको गिरावट देखियो । यस्तै, व्यापार समूह २.६२ अंक, जलविद्युत समूह १५.५ अंक, बित्त समूह ७.४८ अंकले घटे । 

‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.४१ अंकले घट्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९१ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १० लाख ७ हजार ७ सय ६४ कित्ता सेयर ४२ करोड ५१ लख ९४ हजार २ सय ९९ रुपैयाँमा किनबेच भए । 

यो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकले ६ करोड ४७ लाखको कारोबार गर्यो । यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २ करोड ५२ लाखको कारोबार गर्यो भने नवील बैंकको १ करोड ६६ लाख बढीको संस्थापक सेयर किनबेच भयो । बुटवल पावर कम्पनीले १ करोड १८ लाख बढीको कारोबार गरेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १ करोड १८ लाख, सानिमा बैंकले १ करोड १४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९७ लाख, फ्रस्ट माइक्रोफाइनान्सले ९२ लाख, नवील बैंकले ८८ लाख र सेञ्चुरी बैंकले पनि ८८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन हिमालयन डिस्टीलरी लिमीटेडका सेयरधनी मालामाल भए । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले ७.०६ प्रतिशतले सम्पत्ति बढाए ।

यो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीले घट्यो । भार्गव विकास बैंकको मूल्यमा समेत ५.२२ प्रतिशतको गिरावट आयो ।