काठमाण्डौ । दोश्रो बजारमा केवाइसीका कारण निम्तिएको समस्या तत्काल समाधान हुने छाँटकाट देखिएको छैन । यहीकारण बुधबार पनि बजारमा न्यून कारोबार भइरहेको छ ।

यो दिन बजार खुलेको पहिलो २ घण्टामा अर्थात दिउँसो १ बजेसम्म ७ करोडको हाराहारीमा मात्र कारोबार भएको छ । १ लाख ४४ हजार भन्दा केही बढी कित्ता सेयर मात्र किनबेच भएको देखिएको छ । 

यो अवधिसम्म बजार परिसूचक भने केही बढेको छ । नेप्से परिसूचक ३ प्रतिशतको हाराहारीमा बढेको छ । बित्त र उत्पादनमूलक बाहेकका समूह बढ्ने क्रममा छन् । 

यो अवधिसम्म नेपाल टेलिकमले सबैभन्दा बढी कारोबार गरेको छ । वोमी माइक्रोफाइनान्स र ग्लोबल आइएमई बैंक समेत कारोबारमा अगाडि छन् ।

धितोपत्र बोर्डले केही परिस्कृत मापदण्ड तयार गरी सेयर कारोबार गर्ने लगानीकर्ताहरुलाई आफ्नो ब्रोकर अफिसमा गएर केवाइसी अपडेट गराउन बैशाखसम्मको समयसीमा दिएको थियो । त्यसपछि केवाइसी अपडेट नगराउनेहरुले सेयर कारोबारमा सहभागी हुन नपाउने प्रावधान कडाईका साथ लागू गरिएसँगै बजारमा हिजोदेखि एकाएक कारोबार घटेको थियो ।

कतिपयले केवाइसीमा औंठाछाप लगायतका केही नयाँ प्रावधानका कारण कालोधन लगानी गर्नेहरु पलायन भएका बताइरहेका छन् भने कतिपयले चाहि लगानीकर्ताकै बेवास्ताले यस्तो अवस्था भएको बताइरहेका छन् । कतिपयले केवाइसीको अनावश्यक झञ्झट दिएर धितोपत्र बोर्डले लगानीकर्तालाई दुःख दिएको आरोप लगाइरहेका छन् । उनीहरुले चेकमार्फत कारोबार हुने भएकोले बैंकमै उपलब्ध गराएको केवाइसी नै पर्याप्त रहेको दाबी समेत गर्दै आएका छन् ।