काठमाण्डौ । सोमबार बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । यो दिन नेप्से परिसूचक १०.४३ अंकले बढेर ११७४.३७ को विन्दूमा फर्किएको हो । 

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । यो दिन १७ करोडको हाराहारीमा सेयरको कारोबार भएको छ । 

यो दिन होटल समूह २.५ अंकले गिरावट आएको छ भने बाँकी सबै समूहको सूचकमा बढोत्तरी भएको छ । 

यो दिन बैंकिङ समूह ७.५४ अंकले बढ्यो भने विकास बैंक १६.२२ अंक, जलविद्युत समूह ३.९८ अंक, बित्त समूह २.३६ अंक, निर्जीवन बिमा समूह ७५.५५ अंक, उत्पादनमूलक समूह ४.५७ अंक, अन्य समूह ६.९७ अंक, माइक्रोफाइनान्स १५.०२ अंक र जीवन बिमा समूह ११०.८५ अंकले बढे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स २.२४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ५ लाख ३३ हजार ४ सय ९२ कित्ता सेयर १६ करोड ९६ लाख ६१ हजार ४ सय ३१ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १ करोड २० लाख बढीको कारोबार गरेको छ । एभरेष्ट बैंकले ६५ लाख बढीको कारोबार गरेको छ भने नवील बैंकले ४८ लाख, प्राइम कमर्सियल बैंकले ४७ लाख, इन्भेष्टमेन्ट बैंकले ४७ लाख, मेगा बैंकले ४६ लाख, सानिमा बैंकले ४५ लाख, स्ट्याण्डर्ड चार्टर्डले ४१ लाख, ओम डेभलपमेन्ट बैंकले ४० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी आरम्भ माइक्रोफाइनान्सका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य ९.०४ प्रतिशतले वृद्धि भयो । 

सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । मल्टी प्रपोज फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाए ।