काठमाण्डौ । आधाघण्टासम्म 'पर्ख र हेर'को रणनीतिमा बसेका लगानीकर्ताहरुले दवाब समूहको आह्वानलाई अटेर गर्दै सेयर कारोबार सुरु गरेका छन् । 

केहीबेरअघिदेखि बजारमा कारोबार सुरु भएको देखिएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यो समाचार तयार पार्दासम्म १० कम्पनीका १७ वटा कारोबारमार्फत २ हजार ७६ कित्ता सेयर किनबेच भएको छ । यो अवधिसम्म ८ लाख ७३ हजार ४ सय ९ रुपैयाँ बराबरको कारोबार भएको हो । 

कारोबारको सुरुवाती समयमा नेप्से परिसूचक ०.८ अंकले घटेको नेप्सेको डिस्प्लेले देखाएको छ । 

स्रोतका अनुसार केही ब्रोकरहरु नेप्सेका सीइओ चन्द्रसिंह साउदलाई भेट्न पुगेको केही समयपछि कारोबार सुरु भएको देखिएको हो । लगानीकर्ताले कारोबार बहिस्कार गरी आफूहरुलाई साथ दिन आह्वान गरेसँगै आमरण अनसन थालेकै दिन बजार खुलेको आधाघण्टासम्म कारोबार नहुनु र ब्रोकर नेप्से छिरेको केही समयपछि कारोबार खुलेको देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।