काठमाण्डौ । बजार बुधबार पनि घटेको छ । तर, बजार परिसूचक(नेप्से) ७.०२ अंकले घटे पनि बजारलाई कारोबारको साथ भने केही मजबुत भएको छ । विश्लेषकहरुले परिसूचक घटे पनि कारोबार रकम चाहि उक्लन थाल्नुले लगानीकर्तालाई थोरै भए पनि राहात दिएको बताएका छन् । 

बजारमा परिसूचकमा सामान्य गिरावट आउँदा कारोबार रकम बढ्दै गयो भने यसले बजार मजबुत बन्नसक्ने संकेत गर्छ । तर, कारोबार रकम र परिसूचक दुवै समानान्तर ढंगले घटे भने र यो क्रम लामो समयसम्म चलिरह्यो त्यसलाई अशुुभ संकेतको रुपमा बुुझ्ने गरिन्छ । 

बुुधबार नेप्से परिसूचक घटेर १५२६.५१ अंकमा सीमित बन्न पुुगेको छ । उत्पादनमूलक र अन्य बाहेकका सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैकिङ समूह ६.४७, बिमा समूह ४९.७, विकास बैंक समूह १३.४१, बित्त समूह ३.८८, जलविद्युत समूह ६.८६, होटल समूह ९.६१ अंकले घटेका छन् । बुधबारदेखि अलग्गै समूहगत सूचकको रुपमा कारोबारमा आएको माइक्रोफाइनान्स समूहको सूचकमा १२.९३ अंकको पहिरो गएको छ ।

यो दिन उत्पादनमूलक २३.४८ अंकले बढेको छ भने अन्य समूह ०.५८ अंकले बढेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.८५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५२ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका कुल १० लाख ३१ हजार ८ सय ३२ कित्ता सेयर ४२ करोड २६ लाख ४४ हजार २ सय ४४ रुपैयाँमा किनबेच भएको छ । मंगलबार बजारमा ४१ करोड ८१ लख ४० हजारको सेयर किनबेच भएको थियो । 

यो दिन सबैभन्दा बढी राष्ट्रिय विमा कम्पनी लिमीटेडको ३ करोड १० लाख बढीको संस्थापक सेयर किनबेच भयो । जनता बैंक नेपालले १ करोड ९३ लाख बढीको कारोबार गर्यो भने एनबी बैंकले १ करोड ७९ लाख, राष्ट्रिय बिमा कम्पनीको १ करोड ७९ लाख बढीको साधारण सेयर किनबेच भयो । मुक्तिनाथ विकास बैंकको १ करोड ७० लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले १ करोड २८ लाख, प्रभूू बैंकले १ करोड, नेपाल टेलिकमले ९८ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, एक स्थान विकास बैंक र एक स्थान अन्य समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार, सोमबार र मंगलबार झै बुधबार पनि सबैभन्दा बढी मल्टीपर्पोज फाइनान्स कम्पनीले कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर मूल्य समेत साढे ५ प्रतिशतको हाराहारीमा बढ्यो भने सूूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५ प्रतिशतको हाराहारीमा आफ्नो सम्पत्ति बढाए । 

यो दिन सबैभन्दा बढी भार्गव विकास बैंकले गुमायो । यो कम्पनीको सेयर मूल्य ७.२९ प्रतिशतले घट्यो । सहयोगी विकास बैंकको मूल्यमा ६.४२ प्रतिशतको गिरावट आयो भने कन्काई विकास बैंकको मूल्य ५.६६ प्रतिशतले घट्यो ।