काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजार ९.४ अंकले घटे पनि कारोबार रकममा भने राम्रो सुधार भएको छ । 

तरलताको अवस्था समाधान नहुँदा र बजारमा हुने चलखेल अन्तका लागि नियामक निकायका अधिकारीहरुले सक्रियता नदेखाउँदा बजार घट्ने क्रम यो सातामा पनि सुरुवातकै दिनदेखि देखिएको हो ।

पछिल्लो समय बजार नबढेर दैनिक रोजीरोटी नै जोखिममा परेको महसुुस गरेका सर्टटर्म कारोबारीहरुले सामान्य अंकले बजार बढ्दा समेत थोरै नाफा लिएर सेयर बिक्री गर्ने प्रवृतिले समेत आइतबार बजार घट्न केही दवाब दिएको विश्लेषक बताउँछन् । 

कतिपय लगानीकर्ता सरकारले जारी गर्न लागेको श्वेतपत्रको प्रतिक्षामा छन् । यहीकारण समेत बजारमा लगानीकर्ताहरुको भनेजस्तो सक्रियता नदेखिएको दाबी गर्नेहरु पनि छन् । 

तर, नेप्से परिसूचक घटे पनि कारोबार रकम भने वृद्धि भएका कारण अत्तालिनुपर्ने अवस्था नहुनसक्छ ।  

यो दिन नेप्से परिसूचक १२७८.९६ विन्दूमा झरेको छ । बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । 

‘क’ वर्गका कारोबारमा एकाएक संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स १.९१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.७१ अंकले ओरालो लागेको छ । 

यो दिन बैकिङ समूह ६.५५ अंकले घटेको छ । यस्तै, बिमा समूह ५२.४, बिकास बैंक समूह ११.९२, माइक्रोफाइनान्स समूह १०.९२, बित्त समूह २.११ अंकले घटेका छन् । होटल समूहमा ७०.७६ अंक, जलविद्युत समूह ३३.१३ अंक, उत्पादनमूलकमा २६.१५ अंक तथा अन्य समूहमा १.३२ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन गत बिहीबारको भन्दा झण्डै ७ करोडले कारोबार रकम बढेको छ । यो दिन बजारमा १ सय ५२ कम्पनीका ८ लाख ३३ हजार ९ सय ८६ कम्पनीका सेयर ३० करोड ४ लाख ७९ हजार ७ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६३ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले २ करोड ३२ लाख बढीको कारोबार गरेको बजारमा सूर्य लाइफ इन्स्योरेन्सको १ करोड ८३ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नवील बैंकले १ करोड २४ लाख बढीको कारोबार गरेको बजारमा इन्भेष्टमेन्ट बैंकको १ करोड ८ लाख बढीको संस्थापक सेयर समेत किनबेच भयो । 

यो दिन जनता बैंकले ९६ लाख, एभरेष्ट बैंकले ९२ लाख, सानिमा बैंकले ८४ लाख, नागरिक लगानीकोषले ७७ लाख र नेपाल बैंकले ६४ लाख बढीको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन छ्याङ्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतले वृद्धि भयो । स्वदेशी लघुवित्तको सेयर मूल्य पनि ४ प्रतिशतकै हाराहारीमा बढ्यो । 

यो दिन अपी पावर कम्पनीका लगानीकर्ताले पनि पहिरो व्यहोरे । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो ।