काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.६३ अंकले घटे पनि कारोबार रकम भने बढेर निकै माथि पुुगेको छ । परिसूचक घटेर १२२०.४४ अंकमा सीमित बन्दा कारोबार रकम चाहि बढेर ४४ करोड माथि पुुगेको हो । यसले बजारलाई कारोबार रकमले केही साथ दिन थालेको हो कि भन्ने आशा बढाइदिएको छ । तर, कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढे मात्र आगामी दिनमा बजार बढोत्तरीको गतिमा कुद्ला भन्न सकिन्छ । 
बजारलाई सकारात्मक प्रभाव पार्ने परिस्थितिहरुको विकास भइनसकेकोले बिनाकारण बजार बढेर धेरै माथि जाने अवस्था छैन । यसकारण बजार तत्काल बढिहाल्छ भनेर ठोकूवा गर्ने कुनै पनि आधार देखिँदैन । बरु, निरन्तर घट्दो बजारले लगानीकर्ताको मनोबल खस्किएको सहजै बुुझ्न सकिन्छ ।

बजार अनिश्चित बन्दै जाँदा पैसा भएका लगानीकर्ता समेत बैंकको मुद्धती खातामा पैसा राखेर लगानीको निश्चित रिटर्नका लागि निश्चिन्त हुन खोजेको जस्तो देखिन्छ । ऋण लिएर सेयर खरीद गरेका लगानीकर्ताहरुमा बैंकहरुको मार्जिन कलको त्रास, बजार बढ्ने आशामा ऋणको ब्याज दिंदै सेयर होल्ड गर्नेहरु समेत निराश भएर बिक्री गर्न थाल्दा केही दिनदेखि बजार निरन्तर ओरालो लागिरहेको छ । 

सेय कारोबारमा करको प्रसंग, पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयन, बजारमा एनआरएनहरुको प्रवेश, मार्केट मेकरको व्यवस्था, बैंकहरुलाई ब्रोकरको लाइसेन्स लगायतको बिषयहरु समेत लामो समयसम्म पनि प्रष्ट नहुँदा र धेरै बिषयमा अन्यौलको भूमरीमा पर्दा बजार निरन्तर घटिरहेको हो । बिहीबारको बजारलाई समेत यसकै निरन्तरताको रुपमा लिन सकिन्छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.९९ अंकले घटेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.६३ अंकले घटेको छ । 

यो दिन बजारका सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंकिङ समूह ३.९६ अंकले घटेको छ भने बिमा, विकास बैंक, माइक्रोफाइनान्स र बित्त समूहमा क्रमशः १२०.७, १०.७९, १९.२५ र ०.८ अंकले घटेका छन् । 

होटल समूहमा ५९.४५, जलविद्युत समूह २५.२४, उत्पादनमूलक ३३.०६ र अन्य समूह ५.२७ अंकले घटेका छन् । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका १० लाख ८८ हजार १ सय ५७ कित्ता सेयर ४४ करोड १६ लाख ४४ हजार ८ सय २६ रुपैयाँमा कारोबार भयो । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्सले मात्रै ४ करोड ७१ लाख बढीको कारोबार गर्यो । नबील बैंकले १ करोड ९५ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ८९ लाख, नेपाल बैंकले १ करोड ७९ लाख, सानिमा बैंकले १ करोड ७० लाख, सिद्धार्थ बैंकले १ करोड २७ लाख, चिलिमे हाइड्रोले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड २० लाख, एभरेष्ट बैंकले १ करोड २० लाख र राष्टिय बिमा कम्पनीले १ करोड ५ लाख बढीको सेयर कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नागबेली लघुवित्त विकास बैंकले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ८.१४ अंकले बढ्यो । यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको मूल्य समेत ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।

यो दिन प्रोग्रेसिभ फाइनान्सको सेयर ५.३३ प्रतिशतले घट्यो । नेपाल ग्रामीण विकास बैंकका लगानीकर्ताले पनि ५.२६ प्रतिशतका दरले सम्पत्ति गुमाए ।