काठमाण्डौ । एकदुईवटा अजेण्डाबाहेक मौद्रिक नीतिले लगानीकर्ताले उठाएका अधिकांश माग पूरा गरिदियो । सेयर कारोबारमै कर लाग्छ कि भन्ने अन्यौल समेत बजेट र मौद्रिक नीतिले चिरिदिइसकेको छ । कमाएपछि तिरिने पूँजीगत लाभकर व्यक्तिको हकमा ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याइएको छ, यसले बजारमा ठूलै प्रभाव पारेको छैन । 

हकप्रद र बोनस सेयरको आधारमूल्यमै पूँजीगत लाभकर लगाउने बिषय स्थगन भएको अवस्थामा छ । बैंकिङ प्रणालीमा तरलता सहज छ र ब्याजदर समेत बिस्तारै घट्न थालेको छ ।

बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको परीक्षण चलिरहेको छ । अबको बढीमा २ महिनापछि पूर्ण स्वचालित कारोबार प्रणालीको कार्यान्वयन हुने अवस्था देखिन्छ । बाँकी बजार सुधारका अन्य प्रयासहरु समेत सकारात्मक नै देखिएका छन् । 

यसरी धेरै सकारात्मक र केही नकारात्मक कुरा भए पनि बजार भने निरन्तर घटिरहेको छ । पछिल्लो समय त कारोबार रकम समेत घटेर १६ करोडको हाराहारीमा पुग्न थालेको छ । बजार प्यानिक अवस्थामा पुगेको प्रष्टै देखिन्छ । 

धेरै कुराहरुमा सकारात्मक परिवर्तन हुँदा हुँदै पनि बजार किन बढ्न सकिरहेको छैन ? सामान्य लगानीकर्ता चकित छन् । अब बढ्छ भनेर अनुमान गरिएको बेला नै बजार दैनिक घटिरहेको छ । 

बैंक तथा बित्तीय संस्थाहरुको बोलवाला रहेको बजारमा त्यस्ता कम्पनीहरुको उत्साहप्रद प्रगति विवरण सार्वजनिक हुँदा समेत त्यसको शून्य प्रभाव देखिएको छ । कम्पनीहरुको वित्तीय विवरण हेरेर उसले भविष्यमा दिनसक्ने लाभांशको आँकलन गरी लगानी गर्नुपर्ने समयमै बजार उल्टो गतिमा कुदिरहेको छ । आखिर यस्तो किन भइरहेको छ ?

यो सबै पछाडिको कारण निश्चित गिरोहहरुको निकै खतरनाक स्वार्थ रहेको खुलासा भएको छ। । पछिल्लो समय बजारमा केही यस्ता गिरोह परिचालन भएका देखिएको छ, जसले जुनसुकै हालतमा भए पनि बजारलाई १००० को विन्दूमा झार्ने षड्यन्त्र रचिरहेका स्रोत दाबी गर्छ ।

यस्तो गिरोहहरुमा केही धितोपत्रका दलाल व्यवसायी, केही म्युचुअल फण्ड, लगानीकर्ता प्रशिक्षणका लागि खुलेका केही कम्पनी र केही मिडियाहरु समेत संगठित रुपमा लागेका पाइएको छ । सो समूहले बजारलाई बुल गराउनुपर्छ भन्नेहरुलाई थर्काउने, तर्साउने, धम्क्याउने र केही मिडियाको प्रयोग गरी बजारमा चरम निराशाको वातावरण सिर्जना गरी बजारलाई जसरी भए पनि १००० को विन्दूमा झार्ने षड्यन्त्र रचिरहेको स्रोतहरुले बताएका छन् । 

सो गिरोहहरुले ‘बजारमा अब चाँडै डाउनट्रेण्डको अन्त हुँदैछ’ भनेर लेख लेख्ने लेखकहरुलाई समेत विभिन्न ठाउँमा बोलाएर थर्काउन थालेका छन् । यो समूहमा लगानीकर्ता संघसंगठनका केही अधिकारी समेत संलग्न भएका देखिएको ती स्रोतहरु दाबी गर्छन् । 

हुन त मौद्रिक नीति लगत्तै त्यसमा भएका राम्रा व्यवस्थाको बिषयमा आर्टिकल लेख्ने वा प्रतिक्रिया दिने लेखकहरुलाई समेत कतिपय लगानीकर्ताका नेताले बोलाएरै थर्काएका थिए । ‘मौद्रिक नीति बजारका लागि राम्रो छ किन भनेको भनेर एक नेताले थर्काए ।’ बिजशालामा आर्टिकल लेख्ने एक लेखकले सो बेलै हामीलाई भनेका थिए–‘बजारमा त साच्चिकै ठूलो सिण्डिकेट रहेछ, ठूलै गिरोह बजार जसरी पनि घटाउने अभियानमा लागेको देखियो ।’ 

ती लेखकलाई मात्र होइन, विभिन्न मिडियामा बजार बढ्छ भनेर लेख लेख्ने तथा विश्लेषण गर्नेहरुलाई त त्यस्ता गिरोहहरुले अफिसमै बोलाएर थर्काउने गरेका समेत पाइएको छ । ‘मलाई कार्यालयमै बोलाएर ‘बजारलाई जसरी भए पनि १००० को विन्दूमा झार्ने हाम्रो योजना हो, यसमा तपाईले पनि सहयोग गरिदिनुपर्यो’ भने ।’ एक बजार विज्ञले सोमबार बिजशालासँग भने–‘मलाई आइतबार बोलाएर थर्काइयो, त्यहाँ मिडियाको मानिसहरु पनि थिए, उनीहरुले समेत मलाई थर्काए । त्यहाँ अरु मानिस पनि थिए, बजार बढ्छ भनेर किन लेखेको भनेर थर्काए ।’ उनीहरुले बजार बढ्छ भनेर नलेख्न आफूलाई धम्की समेत दिएका ती लेखकको गुनासो छ ।  

लेखकहरुले आफूहरुको सुरक्षाको ग्यारेण्टी भए बजार घटाउने कार्यमा संलग्न गिरोहहरुको सम्पूर्ण विवरण सार्वजनिक गर्न तयार रहेको समेत बताएका छन् । उनीहरुले दिएका यस्ता गिरोहहरुको केही विवरण उनीहरुकै आग्रहमा यहाँ उल्लेख नगरिएको हो ।

यो घटनाले केही गिरोह कुन हदसम्म बजार घटाउन लागिपरेको छ भन्ने देखिएको छ । लामो समयदेखि कारणबिना नै बजार नबढ्ने कारण पनि नेप्सेलाई घटाएर १००० को विन्दूमा झार्ने दुष्प्रयास नै रहेको देखिन्छ । यो गिरोह बजारलाई अझ प्यानिक बनाएर १००० मा झार्ने र त्यसपछि निकै ठूलो भोल्यूममा सस्तो सेयर किनेर बजार प्रवेश गर्ने दाउमा रहेको देखिएको स्रोतहरु बताउँछन् । 

यस्ता गिरोहहरुको चलखेलको बिषयमा नियामक निकायहरुले छानबिन गर्नुपर्नेमा हामीसँग सम्पर्कमा आएका लेखकहरुले जोड दिएका छन् ।

बजारमा गिरोहहरुको चलखेल र दादागिरी खुलेआम भएको भन्दै गणतन्त्र आएपछि समेत आफूहरुले स्वतन्त्रपूर्वक लेख्न र बोल्न नसक्ने अवस्था सिर्जना हुँदै गएकोमा दुःख व्यक्त गरेका छन् ।