काठमाण्डौ । नेपालको धितोपत्र बजार ५ दिनभन्दा बढी बन्द नहुने भएको छ । 

लकडाउनका कारण कारोबार गर्न समस्या हुने भन्दै धितोपत्र बोर्डले चैत १७ गतेसम्मका लागि धितोपत्र कारोबार बन्द गरेको छ । तर, त्यसपछि भने सेयरबजार बन्द नहुने भएको हो । 

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकको पहिलो निर्णयमै भनिएको छ–‘विश्वव्यापी रुपमा फैलिएको कोभिड १९१ संक्रमणबाट सजग रहन र सतर्कता अपनाई बैंकिंग, बिमा, धितोपत्र, कम्पनी दर्ता र बचत तथा ऋण परिचालन सम्बन्धी न्यूनतम सेवाहरुलाई सम्बन्धित निकायहरुले निरन्तरता दिने । साथै कुन कुन सेवा कुन क्षेत्रबाट दिने हो सोको संचारमाध्यमबाट सेवाग्राहीलाई जानकारी गराउने ।’

यसअघि नेपाल स्टक एक्सचेञ्जले पनि विश्वका सबै सेयरबजारहरु लकडाउनको अवस्थामा पनि संचालन भइरहेका उदाहरण पेश गर्दै नेपालको धितोपत्र बजार पनि बन्द गर्न नहुने अडान लिई गत आइतबार कारोबार सुचारु राखेको थियो । तर, लगानीकर्ताका विभिन्न ५ संगठनहरुले भने देशका सेयर लगानीकर्ता पूर्ण रुपमा अनलाइनमैत्री नभइसकेकाले भौतिक रुपमा ब्रोकर कार्यालयमै उपस्थित भएर कारोबार गर्नुपर्ने बाध्यता रहेको र त्यसो हुँदा कोरोनाको संक्रमणको जोखिम बढ्नसक्ने भन्दै तत्कालका लागि बजार बन्द गर्न आग्रह गरेका थिए । 

निकै लामो समयको गलफत्तीपछि धितोपत्र बोर्डले ऐनले दिएको अधिकार प्रयोग गरी चैत १० गतेदेखि ५ कार्यदिनका लागि बजार बन्द गराउने निर्णय गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टको नाममा गरेको सम्बोधनमा अत्यावश्यक बाहेकका सेवाहरु लकडाउनको अवधिमा बन्द हुने बताएका थिए । राजपत्रमा धितोपत्रको कारोबार अत्यावश्यक सेवाको क्षेत्रभित्र नपर्ने भन्दै बजार बन्द गर्नुपर्ने माग उठेको थियो । 

तर, अब उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले नै धितोपत्र बजार पनि सुचारु राख्ने निर्णय गरेपछि १७ गतेपछि सेयर कारोबार समेत खुल्ला नै हुने निश्चित देखिएको हो । 

त्यसो त पूर्ण लकडाउनमा रहेको भारतमा समेत सेयर कारोबार रोकिएको छैन । कोभिड १९ का संक्रमण फैलिएका अन्य देशहरुमा पूर्ण लकडाउन घोषणा गरिए पनि ती देशका सेयर बजार समेत बन्द छैनन् । नेपालले पनि यही अभ्यासलाई पछ्याउने भएको हो ।