काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार बढेको छ । बुधबारको तुलनामा कारोबार रकम केही कम भए पनि यो साताको समग्र दिनहरुको तुलनामा कारोबार रकम सन्तोषजनक नै छ । कारोबार रकम सन्तोषजनक अवस्थामा रहनु र नेप्से परिसूचक बढ्दै जानुुले बजार थप बलियो बन्दै गएको र लगानीकर्तामा आत्मविश्वास बढ्दै गएको बुुझ्न सकिन्छ । लगानीकर्ताहरुले बजार वृद्धिको यात्रा अब नरोकिने आत्माविश्वाससहित लगानी बढाइरहेका छन् । यहीकारण बजारमा बिक्रीलाई खरीद चापले छायाँमा पारिदिएको छ । 

कतिपयले यसअघिको चुनावको उदाहरण दिंदै निर्वाचनअघि बजार बढे पनि निर्वाचनपछि बजार घट्ने गरेको बताएका छन् । तर, विश्लेषकहरु भने यसपटकको निर्वाचनपछिको अवस्था नै फरक रहेको उल्लेख यसअघिका निर्वाचन र त्यसपछिको अवस्थासँग अहिले र निर्वाचनपछिको अवस्थालाई तुलना गर्न नमिल्ने दाबी गर्छन् । ‘यसअघिका निर्वाचनपछि पनि राजनीतिक अन्यौल कायमै हुन्थ्यो, स्थिर सरकार हुँदैन थियो ।’ एक विश्लेषकले बिजशालासँग भने–‘त्यसकारण यसपटकको निर्वाचनपछि पनि यसअघि अझै बजार घट्छ भनेर कसैले भन्छ भने त्यो गलत हो । बजार घटाउने नियतले आएको गलत विश्लेषण मात्र हो ।’ 

ती विश्लेषकका अनुसार यसपटकको निर्वाचन सम्पन्न भएपछि जुनसुकै समूह भए पनि बहुमत आउने र स्थिर सरकार बन्नेछ । उनको दाबीमा राजनीतिक अजेण्डा अब सकिएकोले दलहरुले आर्थिक समृद्धितर्फ पाइला नचाली धरै छैन । समृद्धि र विकासमा ध्यान केन्द्रीत गर्दा आर्थिक क्रियाकलाप बढ्ने, लगानीको अभूतपूर्व वातावरण बनी समृद्धिको युुग सुरु हुने, वैदेशिक लगानी आकर्षित भई देश काचुुली फेर्ने मार्गतर्फ उन्मुख हुने भन्दै त्यस्तो अवस्थामा सेयर बजारमा पनि उछाल आउने दाबी गरे । 

उनको भनाईमा निर्वाचनपछि बन्ने प्रादेशिक सरकारहरुले समेत विकास र समृद्धिका लागि आवश्यक पूँजी जुटाउन विभिन्न खालका ऋणपत्रहरु जारी गर्ने र यसले पूँजीबजारलाई थप चलायमान बनाइदिनेछ । ‘लगानीकर्ता ढुक्क भए हुन्छ, यो पटकको निर्वाचनपछि यसअघिका निर्वाचनपछि झै बजार घट्नेवाला छैन ।’ उनले दाबी गर्दै भने–‘बजार धेरै माथि पुुग्छ । तसर्थ, लगानीकर्ताले कम्पनी बित्तीय रुपमा कति बलियो छ, सबै आधारभूत कुरा हेरेर राम्रा कम्पनीमा लगानी गर्दै अगाडि बढ्ने मौका नै अहिले हो ।’ उनले बजार घटेको बेला अत्तालिएर सेयर बिक्री गर्ने र बढेको बेला चाहि किन्ने प्रवृति गलत भएको भन्दै राम्रा कम्पनीमा लगानी गरेर निश्चित अवधिसम्म धैर्य गर्न सकिए सेयर बजारबाट मालामाल बन्ने अवस्था रहेको समेत दाबी गरे । 

के भयो बिहीबार ?
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १.५५ अंकले बढेर १५३७.६७ विन्दूमा पुुग्यो । यो दिन तीन समूहको सूचकमा झिनो गिरावट आए पनि बाँकी सबै समूहको सूचक उकालो लागे । 

बैकिंग समूह ०.०९ अंकले बढ्दा माइक्रोफाइनान्स, बिमा र जलविद्युत समूह क्रमशः ६.०७, २०.३७ र २१.९१ अंकले बढे । यस्तै, होटल समूह २५.८ अंकले बढ्यो भने अन्य समूह ०.८७ अंकले वृृद्धि भयो । 

यो दिन विकास बैंक समूह ७.६७ अंक, बित्त समूह ३.९७ र उत्पादनमूलक ७.८६ अंकले घटे । 

'क' वर्गका कम्पनीमा लगानीकर्ताको ध्यान केन्द्रीत हुँदा सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१२ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६४ कम्पनीका १३ लाख ५२ हजार ६ सय ४८ कित्ता सेयर ७४ करोड ६८ लाख ३९ हजार २ सय ९२ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी बुटवल पावर कम्पनीले ४ करोड ६५ लाख बढीको कारोबार गर्यो । यस्तै, यूनाइटेड इन्स्योरेन्सले ४ करोड ५६ लाख, चिलिमे हाइड्रोले ४ करोड ३६ लाख, नेपाल बैंकले ३ करोड ५ लाख, नेपाल टेलिकमले २ करोड ६३ लाख, एनसीसी बैंकले २ करोड ३१ लाख, सगरमाथा इन्स्योरेन्स २ करोड ३१ लख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ९२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको उछाल आयो । रिलायन्स फाइनान्सको मूल्य समेत ५ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन जानकी फाइनान्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आयो ।